२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

आज लौहपुरुष गणेशमान सिंहको १०६ औँ जन्मजयन्ती

गणेशमान सिंह : राजनीतिमा निष्ठा, त्याग र साहसको सर्वोच्च उदाहरण

सोमवार , कार्तिक २४, २०७७

काठमाडौं, २४ कार्तिक ।
प्रजातन्त्र पुनःस्थापनाका लागि वि.सं. २०४६ मा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १ सय ६ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । वि.सं. १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मनु भएका नेता सिंहको २०५४ साल असोज २ गते निधन भएको थियो । 

नेपाली राजनीतिमा निष्ठागत त्याग र साहसको उच्च उदाहरणका रूपमा रहनुभएका सिंह तत्कालिन अवस्थामा सबैको निष्ठाको केन्द्र बन्न सफल हुनुभएको थियो भने हालसम्म पनि उहाँलाई आदर्श पुरुष मान्ने प्रजातन्त्रवादीहरुको कमि छैन । वि.सं. २०४६ सालको जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्नका लागि गरेको आग्रहलाई अस्वीकृत गर्दै उहाँले आफ्ना समकक्षी नेता कृष्ण प्रसाद भट्टराईलाई अघि सारेर नेपाली राजनीतिमा उच्चस्तरको त्याग गरेर नमूना राजनितिज्ञको रुपमा आफुलाई प्रस्तुत गर्नुभएको थियो । 

काठमाडौँको क्षेत्रपाटीस्थित खानदानी सिंह परिवारमा जन्मनुभएका गणेशमानले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाउनु भएको थियो । राणा शासन अन्त्य गर्ने अभियानमा लागेपछि उहाँ लगायतका केही नेतालाई तत्कालीन सरकारले जेल हालेको थियो । विसं २००७ अघि नै भद्रगोल जेल फोरेर भाग्न सफल हुनुभएका जोशिला तन्नेरी गणेशमान प्रवास जानुअघि नै तत्कालीन राणा हटाऊ आन्दोलनमा सक्रिय हुनुभएको थियो ।

सिंहले भद्रगोल जेल ब्रेक गरि भागेर भारतमा पुगी अर्का नेता बिपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गर्नुभयो । बिपि सहित केही सहयोगीका साथ २००३ सालमा स्थापित नेपाली राष्ट्रिय कांग्रेसलाई आजीवन जुझारू नेतृत्व दिन पनि गणेशमानको उल्लेखनीय भूमिका छ । प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्तिका एक अगुवा नायकका रूपमा उहाँले वीरगञ्ज मोर्चामा सशस्त्र सङ्घर्ष पनि गर्नुभएको थियो । 

देशमा प्रजातन्त्र बहाली र पुनर्बहालीका लागि समर्पित सिंह सैद्धान्तिक हिसाबले बिपीका अनुयायी र सबैभन्दा ठूला समर्थकका रूपमा रहनुभयो । नेपाली कांग्रेसलाई लोकप्रिय बनाउन सदा क्रियाशील हुनुभयो । विसं २०१५ सालमा पहिलो निर्वाचन भएपछि बनेको सरकारमा वरिष्ठ मन्त्री हुनुभएका गणेशमानले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष निरन्तर पहिले सिंहदरबार र त्यसपछि सुन्दरीजल बन्दीगृहमा कारावास जीवन बिताउनुभयो । विसं २०२५ मा बिपीसँगै सुन्दरीजल बन्दीगृहबाट रिहा भएपछि प्रवासमा राजनीतिक सङ्गठन विस्तार गर्नुभयो । विसं २०३३ मा बिपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केर तत्कालीन पञ्चायती व्यवस्थाकाविरूद्ध सक्रिय रहनुभएको थियो । 

नेता सिंहलाई विसं २०१७ पुस १ गतेको शाही कूपछि २०२५ सालसम्म बिपी कोइरालासँगै सुन्दरीजल बन्दीगृहमा थुनिएको थियो । विसं २०२५ मा जेलमुक्त भएपछि बिपीसँगै भारत निर्वासनमा जानुभएका नेताहरुलाई २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै गिरफ्तार गरी सुन्दरीजल बन्दीगृहमा दोस्रो पटक थुनिएको थियो । सो घटनाको ऐतिहासिकता कायम राख्न विसं २०६१ भदौ २४ गते सो सुन्दरीजल बन्दीगृहलाई नेपाल सरकारद्धारा बिपी सङ्ग्रहालयमा रूपान्तरण गरिएको थियो ।

जुझारु नेता स्व.सिंहले तत्कालीन पञ्चायती सरकारले बिपी कोईरालासँगै मृत्युदण्डको माग गरिएका आठवटा मुद्दामा विशेष अदालतबाट सफाइ पाउनुभएको थियो । गणेशमानले २०३६ सालको विद्यार्थी आन्दोलन र जनमत संग्रहमा उत्तिकै नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो । बिपीको निधनपछि कांग्रेसका सर्वोच्च नेताका रूपमा गणेशमानले २०४२ सालको सत्याग्रह आन्दोलनको नेतृत्व गर्नुभयो । विसं १९९७ देखि अनवरत राजनीतिमा समर्पित कडा स्वभाव र जुझारू व्यक्तित्वका सर्वप्रिय नेता गणेशमानको महत्वपूर्ण योगदान २०४६ सालमा रहेको सवैबिदितै छ । 

जनआन्दोलनका लागि कम्युनिष्टसँग मिलेर पञ्चायतविरुद्ध आन्दोलनको घोषणा गर्ने सिंह उक्त आन्दोलनका सर्वोच्च कमाण्डर भई सबैको प्रिय बन्नुभएको हो । यस वर्ष कोरोना भाइरसको सङक्रमण फैलिएकाले गणेशमान जयन्तीका अवसरमा आज गणेशमान सिंह अध्ययन प्रतिष्ठानले उहाँको जन्मस्थान भएको क्षेत्र काठमाडौँ–८ मा अक्सिमिटरलगायत स्वास्थ्य सामग्री वितरणसँगै जनचेतनामूलक अभियान शुरु गर्ने कार्यक्रम रहेको प्रतिष्ठानका अध्यक्ष नवीन्द्रराज जोशीले जानकारी दिनुभएको छ ।

स्व.सिंहको जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेस र पार्टीका भ्रातृ एवं शुभेच्छुक संघ–संस्थाले जुम प्रविधिबाट अन्तर संवाद लगाएतका विभिन्न कार्यक्रम आयोजना गरी गणेशमान जयन्ती मनाउने अध्यक्ष जोशीले जानकारी गराउनु भएको छ ।।