
शुक्रवार , बैशाख २३, २०७९
बुटवल । इरिक्सा व्यवसायीहरुले बुटवल उपमहानगरपालिकाभित्र सञ्चालनका लागि इजाजत दिँदा पक्षपातपूर्ण व्यवहार भएको भन्दै असन्तुष्टि जनाएका छन् । बुटवल उपमहानगरपालिकाले पार्टीनिकट इरिक्सा व्यवसायीलाई मात्रै इरिक्सा सञ्चालनको अनुमति दिएपछि इरिक्सा चालक तथा व्यवसायी आक्रोशित भएका हुन् ।
बुटवल उपमहानगरपालिकाले रिक्सा सञ्चालनका लागि इजाजत दिनका लागि एमाले निकट जिफन्ट र एमालेको सदस्यता लिन दबाब दिएको भन्दै इरिक्सा व्यवसायी आक्रोशित बनेका छन् ।
बुटवल उपमहानगरपालिकाले १ हजार १८ इरिक्सालाई ब्लुबुक र इजाजत दिने भनेपनि बुटवलमा २ हजारभन्दा बढी इरिक्सा सञ्चालनमा रहेका छन् ।
१ हजार १८ इरिक्सामध्ये सबैजसो एमालेनिकटलाई दिइएको भन्दै इरिक्सा व्यवसायी आक्रोशित बन्दै आएका छन् । उपमहानगरपालिकाले विभेदपूर्ण व्यवहार गरेकाले यो समस्या समाधानका लागि आन्दोलनरत रहेको इरिक्सा व्यवसायी तथा चालक लालमणि भण्डारीले बताए ।
उनले उपमहानगरपालिकाले विभेदपूर्ण नीति ल्याएको र जनप्रतिनिधिले पार्टीको सदस्यता लिएमात्रै इजाजत पाउने भन्ने खालका सर्त राखेकोमा आपत्ति जनाए । ‘कहिले हामीलाई रिक्सा चलाउन छाडेर सिद्धबाबा पहिरो खन्न जानुस्, कहिले कता जानुस्, यता नचलाउनुस् भनेर हेपाहा व्यवहार गरे, उनले भने–यसपटक यस्ता विभेद गर्ने जनप्रतिनिधि र तीनको पार्टीलाई हराउनुपर्छ, चुनाबमा त्यसको बदला लिनुपर्छ ।’
बुटवल उपमहानगरले विद्युतीय रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमन सम्बन्धी कार्यविधि २०७६ नै बनाएर काम अगाडि बढाएको थियो । उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यको संयोजकत्वमा सर्वपक्षीय समिति गठन गरेर व्यवस्थापनका काम अगाडि बढाइएको भएपनि विभेदपूर्ण नीति भएको चालक तथा व्यवसायीको भनाई छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा २ (ट) को खण्ड ४ को अधिकार कार्यान्वयन गर्न र सोही ऐनको दफा ११ को उपदफा ४ (ट) बमोजिम नगर क्षेत्रमा चल्ने विद्युतीय रिक्साको दर्ता, अनुमतिका काम अगाडि बढाइएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij