२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

स्थानीय तह निर्वाचन : उजुरीउपर ध्यान दिन एमालेको आग्रह

आइतवार , जेठ १, २०७९

काठमाडौं, १ जेठ ।
नेकपा (एमाले) ले स्थानीय तहको निर्वाचनमा पार्टीले दिएको उजुरीउपर गम्भीरताका साथ ध्यान दिएर कार्यान्वयन गर्न आग्रह गरेको छ । पार्टीका महासचिव शंकर पोखरेलले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा पुनः मतदान र मतगणनाका लागि नेकपा (एमाले)ले दिएको उजुरीउपर गम्भीरतासाथ ध्यान दिई कार्यान्वयन गर्न आग्रह गरिएको हो ।

मतदानको दिन लगायत विभिन्न मितिमा केन्द्रीय कार्यालयको तर्फबाट र सम्बन्धित उम्मेदवारहरुले सम्बन्धित पालिकाको निर्वाचन अधिकृत र आयोगसमक्ष दिएका दिएको निवेदनअनुसार निष्पक्ष तवरले पुनः मतदान गराउने र मतगणना गराउन एमालेले आग्रह गरेको छ ।

“जनताले स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित तबरबाट आफ्नो जनप्रतिनिधि छनोट गर्ने र ती जनप्रतिनिधिमार्फत राज्य सञ्चालनमा सहभागी हुन पाउनु नै लोकतन्त्रको आधारभूत पक्ष हो” विज्ञप्तिमा भनिएको छ, “यसैले संविधान निर्माणको क्रममा नेकपा (एमाले) राज्यको माथिल्लो तह संघीय सरकारदेखि स्थानीय तहलाई अधिकार सम्पन्न बनाउने पक्षमा उभिएको सबैमा विदितै छ ।” रासस