२०८२, श्रावण १३ गते

Jul 29 2025 | २०८२, श्रावण १३ गते

जिसस रुपन्देही : कांग्रेसलाई बहुमत पुर्‍याउन सकस

बुधवार , जेठ १८, २०७९

भैरहवा, १८ जेठ । 
रुपन्देहीका १६ स्थानीय तहमध्ये १० वटामा प्रमुख जितेको नेपाली कांग्रेसलाई जिल्ला समन्वय समितिको नेतृत्वका लागि बहुमतपुर्याउनसकस परेको छ । कांग्रेस एक्लैले मात्र नभएर गठबन्धनमा रहेका पाँचदलको साथ हुँदा पनि जिल्ला समन्वय समितिमा बहुमत नपुग्ने स्थिति छ । 

१० पालिकामा नेतृत्व जितेको नेपाली कांग्रेसबाट उपप्रमुखमा चार जनाले मात्र जितेका छन् । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले १ गाउँपालिका प्रमुख मात्र जितेको छ । गठबन्धनमा रहेका ५ दलको मतभार १५ मात्रै हुन्छ । यहाँको समन्वय समिति नेतृत्वका लागि १७ जना आवश्यक पर्छ ।

नेकपा (माओवादी केन्द्र) का उम्मेदवारले कञ्चन गाउँपालिकाको उपाध्यक्ष जिते पनि कांग्रेसको चुनाव चिन्ह रुख लिएर निर्वाचित भएकाले कानूनी हिसाबले उनी कांग्रेसकै भएका छन् भने नेकपा (एकीकृत समाजवादी) ले कुनै पनि पालिकामा आफ्नो उपस्थिति जनाउन सकेको छैन । 

यसअघि जिल्ला समन्वय समितिको नेतृत्व लिएको नेकपा एमालेले ३ पालिका प्रमुख ८ उपप्रमुख गरेर जम्मा ११ मतभार बनाएको छ । जिसस नेतृत्व लिन उसको लागि ६ जनालाई मनाउन चुनौती छ । गठबन्धन र एमाले कसलाई जिससमा पठाउने र आफूले के पाउने भन्नेमा निर्णायक शक्तिको रुपमा रहेका छन् लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनता प्रगतिशील पार्टी (जप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ।

लोसपाले १ प्रमुख र २ उपप्रमुख, जनता प्रगतिशीलले १ प्रमुख, १ उपप्रमुख तथा राप्रपाले १ उपप्रमुख जितेका छन् । तीनै दलले गठबन्धनलाई भन्दा एमालेलाई साथ दिने सम्भावना भए पनि भागबण्डामा कसले के पाउने त्यसमै निर्भर रहनेछ ।

कांग्रेसले बुटवल, तिलोत्तमा, सिद्धार्थनगर, मायादेवी, लुम्बिनी साँस्कृतिक, सम्मरीमाई, सैनामैना, सियारी, कञ्चन र शुद्धोधनमा प्रमुख तथा सियारी, सम्मरीमाई, कञ्चन र ओमसतियामा उपप्रमुख जितेको छ । एमालेले देवदह, गैडहवा र ओमसतिया गाउँपालिकाको प्रमुख तथा बुटवल, तिलोत्तमा, देवदह, सैनामैना, सिद्धार्थनगर, शुद्धोधन, लुम्बिनी साँस्कृतिक र गैडहवामा उपप्रमुख जितेको छ ।

लोसपाले कोटहीमाई गाउँपालिकामा प्रमुख/उपप्रमुख तथा मायादेवीमा उपप्रमुख जितेको छ । जसपाले रोहिणी गाउँपालिकामा उपप्रमुख जितेको छ भने राप्रपाले रोहिणीको उपप्रमुखमा जितेको छ । जप्रपाले मर्चवारीको प्रमुख र उपप्रमुखमा जितेको छ ।