
बुधवार , आषाढ १, २०७९
काठमाडौं, १ असार ।
निर्वाचन आयोगले आशन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित गरेर आजदेखि मतदाता नामावली संकलन र अद्यावधिक कार्य सुरु गरेको छ । ती तहको निर्वाचनको मिति निकट भविष्यमा घोषणा हुने सम्भावना रहेकाले सो घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम संकलन गर्न योग्यता पुगेका सबै नागरिकलाई आफ्नो नाम दर्ता गराउन आयोगले कार्यारम्भ गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।
आयोगले सबै निर्वाचन कार्यालय र सबै जिल्ला प्रशासन कार्यालय एवं ७३ वटा इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलन गर्ने, पेशा, व्यवसाय वा अन्य कुनै कारणले कुनै एक जिल्लामा बसोबास गरिरहेको नागरिकले निजको स्थायी ठेगानामा रहने गरी हाल अस्थायी बसोबास गरिरहेको जिल्लाकै निर्वाचन कार्यालय गई मतदाता नामावली दर्ता गर्न सक्ने र मतदाता नामावलीमा रहेको आफ्नो नाम, ठेगाना, जन्म मितिलगायत विवरण सच्याउनलाई प्रमाणसहित निवेदन दिएमा नाम दर्ता अधिकारी (निर्वाचन अधिकारी) ले आवश्यक निर्णय गरी त्रुटि सच्याउने तय गरेको छ ।
आयोगले कुनै मतदाताले झुठो विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भनी त्यस्तो नाम मतदाता नामावलीबाट हटाउनका लागि कुनै पनि व्यक्तिले प्रमाणसहित उजुरी दिएमा नाम दर्ता अधिकारीले छानविन गरी त्यस्तो नाम हटाउने सम्बन्धमा निर्णय गर्ने, कुनै मतदाताले विवाह वा बसाइँ सरेको कारण मतदाता नामावलीमा रहेको आफ्नो ठेगाना परिवर्तन गर्न चाहेमा साविकमा नाम दर्ता भएको जिल्ला वा नाम सार्न चाहेको जिल्लाको निर्वाचन कार्यालयमा निवेदन दिन सक्ने र निवेदन दर्ता भएको कार्यालयले प्राप्त निवेदन उपर आवश्यक निर्णय गरी अर्को जिल्लासँग सम्बन्धित भए सम्बन्धित जिल्लामा आवश्यक प्रमाणसमेत स्क्यान गरी पठाउने प्रबन्ध गरेको छ । रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij