
बुधवार , आषाढ २९, २०७९
बुटवल, २९ असार । सामान्य परिवारमा जन्मिएकी पाल्पा पिपलडाँडाकी पार्वती सेञ्चुरीलाई सानै उमेरदेखि आत्मनिर्भर बन्ने ठुलो धोको थियो । आर्थिक हैसियत कमजोर हुँदा आफूले केही गरेर आत्मनिर्भर बन्नुपर्छ भन्ने सोंच उनले सानैदेखि राखेकी थिइन् ।
स्याङ्जाको गल्याङमा जन्मिएकी पार्वतीले बिहे अघि नै केही गर्नुपर्छ भन्ने भावना बोकेकी थिइन् । दुःख, सुख गर्दै उनी कक्षा ८ सम्म अध्ययन गरिन् । त्यसपछि उनको पाल्पा पिपलडाँडाका अमितकुमार सेञ्चुरीसँग विवाह भयो । श्रीमान्को सामान्य कमाईले पुग्ने अवस्था नदेखेपछि घर खर्च जुटाउनु, बालबालिकाको हेरचाहको जिम्मेवारी पार्वतीको काँधमा थपियो । ‘सिप सिकेर परिवार र समाजमा केही गरेर देखाउने अठोट गरे, सिप सिक्न सुरु गरे, ’उनले भनिन् ।
विवाहपछि जन्मिएका दुई छोराहरुको लालनपालन र शिक्षादीक्षाको लागि समेत आफूले सीप सिकेर केही गर्नुपर्छ भन्ने अठोट गरेकी पार्वतीले सिलाईकटाई तालिम लिइन् । सिलाईकटाई त सिकिन् तर उनलाई मेसिन खरिद गर्न हम्मेहम्मे प¥यो । कारण आर्थिक अभाव । जनतन पाँच हजार रुपैयाँको जोहो गरेर उनले मेसिन किनिन् र टेलर पसल खोलिन् ।
टुलर सुरु गरेसँगै उनको जीवन फेरिन थाल्यो । ‘टेलर राम्रो चल्दै गएपछि मैले दुईजना कामदार पनि राखे, ’उनले भनिन् । विगत ११ वर्षदेखि बुटवलको दीपनगरमा भाडामा बस्दै आएकी पार्वतीले घरभाडावापतको १२ हजार रकम र दुई छोराको पढाई खर्च आफ्नै कमाइले पुर्याउँछिन् । टेलर कामबाट र श्रीमानको कमाइबाट रुपन्देहीको मगंलापुरमा घडेरी पनि किनेकी छिन् ।
‘मैले टेलरिङ पेशाबाट मासिक २५ देखि ३० हजारसम्म आम्दानी गर्दै आएकी छु, श्रीमानको समेत कमाईले गर्दा घडेरी जोड्न सफल भएका छौं, ’पार्वतीले भनिन् । व्यवसाय सुरु गरेको सुरु सुरुमा गाउँघरका नजिकका दिदीबहिनीहरुको कपडा सिलाउन थालिन् । उनको सिलाई कटाई व्यवसाय अहिले निकै फस्टाउँदै गएको छ । ‘व्यवसाय सञ्चालन गरेरै परिवारको आवश्यकता पुरा गर्न सक्षम भएकी छु, ’उनले भनिन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij