२०८२, श्रावण १७ गते

Aug 02 2025 | २०८२, श्रावण १७ गते

निर्वाचनको मिति तोक्न बहानाबाजी भइरहेको छ : सूर्य थापा

बुधवार , श्रावण १८, २०७९

भैरहवा, १८ साउन ।
नेकपा (एमाले)का पोलिटव्युरो सदस्य सूर्य थापाले निर्वाचनको मिति तोक्न निकै बहानाबाजी भइरहेको बताएका छन् । उनले यो खालको बहानाबाजी गर्नु आवश्यक नरहेको बताए । निर्वाचनको मिति जनतालाई सहज हुने हिसाबले तोक्नुपर्ने उनले जोड दिए ।
लुम्बिनी प्रेस क्लब सिद्धार्थनगर, रुपन्देहीले बुधबार भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता थापाले देशलाई निर्वाचनको प्रक्रियामा अघि बढाउनुपर्ने बताए । उनले भने, ‘यो आवधिक निर्वाचन हो, संविधानले पाँच वर्षमा आवधिक निर्वाचनको व्यवस्था गरेको छ, किन्तु परन्तु, इफ, बट भन्न पाइँदैन । ’ संसद्लाई निरन्तर गर्ने कि नगर्ने भन्ने सन्दर्भमा धेरै ठूलो बहसमा जानु आवश्यक नरहेको उनको भनाइ थियो । उनले भने, ‘निर्वाचन गर्दा संविधानसभालाई जहिलेसम्म कायम ग¥यौं, त्यही नजिर बोकेर जाँदा भइहाल्छ, त्यसैले केही बहानाबाजी गर्नु आवश्यक छैन ।’

निर्वाचन जस्तो चिज सत्ताधारी, गठबन्धन र प्रमुख प्रतिपक्षी दलको मात्र नभइ यो जनता र मतदाताको विषय भएको उनको भनाइ थियो । बिना विवाद मुलुकलाई निर्वाचनको तयारीमा लैजानुपर्नेमा उनले जोड दिए । नेता थापाले भने, ‘अहिले सकेसम्म सत्ता लम्ब्याउने, मंसिरमा निर्वाचन हुँदा के हो, के हो भन्ने हालत भएपछि फागुनसम्म गरिहाल्न सकिन्छ कि भन्ने ढंगले भित्री चलखेल भइरहेका छन्, ती प्रकट भइसकेका छैनन् ।’ फागुनमा निर्वाचन लैजाने भनेपछि नेपालको भौगोलिक अवस्थाले हिमाली भेगमा फागुन १५ भन्दा अगाडी निर्वाचन हुन नसक्ने उनको भनाइ थियो । त्यो भनेको निर्वाचन सार्ने, अलि पर धकेल्ने र अन्ततः वैशाखमा पु¥याउने चलखल हुन सक्ने नेता थापाले बताए । मंसिरमा निर्वाचन गनुपर्ने पाँच वर्षको आवधिक निर्वाचनको बाध्यात्मक अवस्था भएकाले यसलाई कार्यान्वयन गर्ने क्रममा अगाडि बढाउनुपर्ने उनको भनाइ थियो । 

गठबन्धनले दुष्टतापूर्ण काम गरेको उनले बताए । निर्वाचनको मुखमा नागरिकता विधेयक पारित भएको उनले बताए । उनले भने, ‘नागरिकता विधेयक ठीक हो बेठिक, यो प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भइसकेपछि म त्यसको बहसमा जान्न र यो यसको प्रक्रियाका सन्दभमा समितिले ३ वर्ष लामो छलफल गरेर टुंग्याएको विषयलाई वेवास्ता तथा उपेक्षा गरेर केही भएको छैन जस्तो गरी त्यसलाई फिर्ता तथा नयाँ विधेयक दर्ता गरी पारित गरिएको छ । ’ हिजो आफैले हलो अड्काएको विषयलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले दिल्ली भ्रमणबाट आएपछि सौदाबाजी गर्नुभएको उनले आरोप लगाए । ‘जन्मसिद्ध नागरिकका सन्तानलाई वशंज नागरिकता दिनुपर्छ भन्ने हाम्रो कुनै विवाद छैन्, उनले भने, ‘नेपालका नागरिकले नागरिकता पाउनुपर्छ, गैरनागरिकले नागरिकता पाउनुहुँदैन ।’ उनले नागरिकतालाई राजनीतिको विषय बनाउन नहुने बताए । 

उनले अहिले विकास निर्माण ठप्प भएको बताए । गठबन्धन स्वार्थको रोटी सेक्नको लागि मात्र भएको उनको भनाइ थियो । गठबन्धनको नाममा साना साना पार्टी मिलेर ठूला पार्टीलाई घेराबन्दी गर्ने काम भएको उनले बताए । एमाले गठबन्धन गर्नुहुँदैन भन्ने मान्यता राख्ने पार्टी भएको नेता थापाको भनाइ थियो । साना पार्टीको रुचीअनुसार गठबन्धन गर्न नहुने उनले बताए । उनले भने, ‘देशलाई गठबन्धनको चक्रबाट मुक्त गर्नुपर्छ ।’ निर्वाचन अघि प्रदेश खारेजी गर्ने एजेण्डा एमालेले नबोक्ने उनले स्पष्ट पारे । जनताले अस्थिरता नरुचाउने भएकाले एमालेलाई जनताले बहुमत दिन्छन् भन्ने विश्वास रहेको उनको भनाइ थियो । साइनबोर्ड कम्युनिष्ट पार्टीको झुण्डाएर केही राजनीतिक दल नेपाली कांग्रेसको पछि पछि हिंडेको उनले बताए ।

लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केसीको अध्यक्षता तथा सचिव शंकर प्रसाद पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।