
बिहिवार , श्रावण १९, २०७९
काठमाडौं, १९ साउन । निर्वाचन आयोगले बिहीबार (आज) बेलुका ५ बजेदेखि मतदाता नामावली संकलन बन्द हुने जनाएको छ ।
सरकारले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आउँदो ४ मंसिरमा गर्ने निर्णय गरेसँगै मतदाता नामावली संकलन बन्द हुने भएको आयोगका सहायत प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ४ मंसिरमा एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन गर्ने निर्णय गरेको छ ।
निर्वाचनको मिति घोषणा भएसँगै मतदाता नामावली बन्द गरिने अर्यालले जानकारी दिए । गत १ असारबाट सुरु गरिएको मतदाता नामावली बिहीबार बेलुका ५ बजेबाट बन्द हुन लागेको हो । यो अवधिमा करिब पाँच लाखभन्दा बढीले नामावली दर्ता गराएका छन् ।
साथै आयोगमा दर्ता भएका राजनीतिक दलका लागि दल दर्ता प्रक्रिया पनि चाँडै सुरु गरिने सहायक प्रवक्ता अर्यालले जानकारी दिए। ‘एक हप्ता समय दिएर आयोगमा दर्ता भइसकेका दलका लागि दल दर्ता प्रक्रिया चाँडै थाल्नेछौँ,’ अर्यालले न्युज कारखानासँग भने । न्युज कारखाना
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij