
आइतवार , श्रावण २२, २०७९
रुपन्देही, २२ साउन ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण तथा प्रदेश कमिटीको आठौं पूर्ण बैठक शनिबार दाङमा सकिएको छ । शुक्रबार सुरु भएको यो कार्यक्रममा केन्द्रीय कमिटीका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, केन्द्रीय कमिटीका उपाध्यक्ष एवं प्रशिक्षण अभियानका संयोजक सुवासचन्द्र नेम्बाङ, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिव कमरेड छविलाल विश्वकर्मा, केन्द्रीय अनुशासन आयोगका उपाध्यक्ष नेत्र पन्थी, केन्द्रीय लेखा आयोगका उपाध्यक्ष विष्णु पन्थीले विभिन्न विधामा प्रशिक्षण तथा निर्देशन दिएका थिए ।
शनिबारको प्रशिक्षणका प्रमुख अतिथि उपाध्यक्ष पौडेलले अब सबैको ध्यान मंसिरको चुनाव केन्द्रीत हुनुपर्ने बताएका छन् । उनले स्थानीय तहको निर्वाचनमा भएका कमजोरीलाई सच्चाउँदै सम्पूर्ण पार्टी पंक्ति चुनावमा होमिनुपर्ने गरी तयारीमा लाग्न निर्देशन दिएका थिए । ‘अब हाम्रो ध्यान चुनाव केन्द्रीत हुनुपर्दछ, यो प्रशिक्षणको केन्द्रीय कार्यभार हो, आजकल पार्टीका सिपाहीहरु कर्तव्यबाट विमुख बन्न थालेका छौं सबैले आत्मसमीक्षा गरेर जिम्मेवारी बहन गरौं’– उनले भने ।
रा
ष्ट्रिय आकाँक्षाको प्रतिनिधित्व गर्न, संविधान र राष्ट्रिय हितको रक्षासहित सामाजिक न्याय सहितको गरी समृद्ध नेपाल र सुखी नेपालको नारा अगाडि लैजाने गरी जनतासमक्ष पुग्न नेता पौडेलको आग्रह थियो । उनले पार्टी सरकारमा रहँदा यिनै विषयलाई कार्यक्रम बनाएर अगाडि बढेको र प्रतिपक्षमा रहँदा यसका लागि दवावसहितका कार्यक्रम गरेर बलियो राष्ट्रिय शक्ति बनेको विषयलाई मतदातासमक्ष पुर्याउनुपर्ने तयारी गर्न आग्रह गरे ।
उपाध्यक्ष पौडेलले भने–‘कांग्रेस बुर्जुवा सुधारवादी शक्ति हो यो परिवर्तनको संवाहक बन्न सक्दैन, दलाल पूँजीपति, अस्ताउँदो सामन्तवाद, उग्र कम्युनिष्ट विरोधी, साम्राज्यवाद, प्रभुत्ववादको रक्षा गरेर नै एसपीपी सम्झौताको ड्राफ्ट गरेको हो, एमालेले विरोध नगरेको भए हामी युक्रेन बन्ने थियौं ।’ ‘एमसीसी सम्झौता पनि त्यस्तै हो । प्रकारान्तरले चीनविरूद्ध नेपाली भूमि प्रयोग गर्ने थियो । पछि चिठी पठायौं भनेर भनेका छन् तर, तिनलाई सार्वजनिक गर्न मानेका छैनन् । यसमा पनि हामी चनाखो बनेका छौं’– पौडेलले भने ।
माओवादी केन्द्र र एकीकृत समाजवादी साम्राज्यवाद, प्रभुत्ववाद, सामन्तवादका अघि नतमस्तक बनेर उनीहरूको पुलको रूपमा काम गरेका छन् ।’ ‘कम्युनिष्ट पार्टीको सरकार गिराउन अदालत धाउने, कांग्रेससँग सहकार्य गर्ने काम गर्छ । कम्युनिष्टको नाममा कलंक हुन् ।’ पौडेलले भने ।
एमाले संगठन, नेतृत्व सबै हिसाबले पहिलो नम्बरको पार्टी भएकाले अबको जिम्मेवारी पनि सोही अनुसार अगाडि बढाउनुपर्ने उनको भनाइ थियो । ‘माओवादीलाई सुधार्न एकीकरण गरिए पनि हाम्रो अन्तरविरोधमा खेलेर थप क्षति बनाउने प्रयास गरे, यसले ठूलो पाठ सिकायो, उल्टै हाम्रो नेतृत्वमाथि जाइलाग्न थाल्यो अनि कसरी काम गर्न सकिन्छ’– उनले भने ।
‘अदालतलाई दुरूपयोग गरेर परमादेशवाट बनेको सरकारलाई जनादेशबाट स्थापित गराउनु हामी सबैको दायित्व हो, एमालेले हार्दा राष्ट्रले हार्छ, जनताले हार्नेछन्, यो विषयलाई गम्भीरताका साथ मतदातासमक्ष लैजाऔं’– उनको निर्देशन थियो ।
प्रदेश कमिटी बैठकमा पार्टी केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश संयोजक छविलाल विश्वकर्माले सांगठनिक विषयमा योजना प्रस्तुत गरे भने अनुशासन आयोगका उपाध्यक्ष नेत्र पन्थीले पार्टी कमिटीको जिम्मेवारीमा रहनेहरुले पालना गर्नुपर्ने अनुशासनका विषयमा प्रकाश पारेका थिए । यसअघि उपाध्यक्ष सुवास नेम्वाङ, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, लेखा आयोगका उपाध्यक्ष विष्णु पन्थीलगायतले विभिन्न विषयमा पार्टीका रणनीति तथा आगामी कार्ययोजनाका बारेमा जानकारी गराएका थिए । दुई दिनसम्म चलेको प्रशिक्षणमा प्रदेशका सबै जिल्लामा रहेका मुख्य नेताहरुको सहभागिता रहेको लुम्बिनी प्रचार विचाग प्रमुख डीआर घिमिरेले जानकारी दिए ।
९ बुँदे प्रस्ताव पारित
भेलाले ९ बुँदे प्रस्ताव पारित गरेको छ । बलियो गठबन्धन, सरकारी हस्तक्षेप तथा अन्य घेराबन्दीका बाबजुद स्थानीय तहको निर्वाचनमा लोकप्रिय मतबाट एमालेलाई पहिलो शक्ति बनाउने मतदातालाई धन्यवाद दिँदै बजेट निर्माणका क्रममा विचौलियाको प्रत्यक्ष उपस्थिति र निर्देशनमा करका दरहरु हेरफेर गरिनु मुलुकको अर्थ राजनीतिक प्रणालीमै लागेको कलंकको घटना भएकाले यसको निन्दा गर्दै भण्डाफोर गर्ने, मंसिर ४ को निर्वाचनलाई घोषणा गर्न बाध्य पार्ने सबै पक्षलाई धन्यवाद घोषित निर्वाचनलाई स्वच्छ, निष्पक्ष, धाँधलीरहित र स्वतन्त्र रुपमा सम्पन्न गर्न भेलाले माग गरेको छ । निर्वाचनको घोषणापछि सरकार स्वतः काम चलाउमा भएकाले अन्य प्रभाव पार्ने निर्णय नगर्न सचेत बनाइएको छ । त्यसै गरी कृषिमा आत्मनिर्भर बनाउन उत्पादनमा जोड दिने र त्यसका लागि आवश्यक सम्पूर्ण उत्पादन सामग्रीसमेत सहज ढंगले उपलब्ध गराउनुपर्नेमा अत्यावश्यक विउविजन र मलखादको न्युनतम प्रबन्ध नगराई किसान विरोधी काम गरेकोमा विरोध गरिएको छ ।
पेट्रोलियम पदार्थलगायत दैनिक उपभोग्य वस्तुहरुको मुल्यवृद्धि रोक्न र घटाउन माग गर्दै अवैध आर्थिक कारोबारलाई प्रश्रय र संरक्षण नदिन दवाव दिने निर्णय गरिएको छ । भेलाले प्राकृतिक प्रकोपबाट आहत भएका नागरिकहरुको अविलम्ब उद्दार, राहत र उचित क्षतिपूर्ति दिन, प्रदेश संसदको नीति, बजेट र कार्यक्रम बनाउँदा देखिएको गैरजिम्मेवार व्यवहार र पूर्ववर्ती सरकारले अगाडि बढाएका कार्यक्रमहरुको कटौतीप्रति निन्दा एवं भत्र्सना गरेको छ । प्रदेशस्तरीय प्रशिक्षणमा सहभागी भइ भएकोमा शीर्ष नेतृत्वलाई धन्यवाद दिँदै व्यवस्थापनमा सहयोग र समन्वय गर्ने दाङ जिल्ला कमिटीसहित सबैमा धन्यवादसहित ९ बुँदे प्रस्ताव पारित गरिएको प्रचार विभाग प्रमुख डीआर घिमिरेले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij