२०८२, श्रावण १७ गते

Aug 02 2025 | २०८२, श्रावण १७ गते

विदेशमा रहेका नेपालीहरूलाई भोट हाल्ने अधिकार दिनुपर्छ : रवि लामिछाने

आइतवार , श्रावण २२, २०७९

बुटवल, २२ साउन । 
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले विदेशमा रहेका नेपालीहरूलाई समेत भोट हाल्ने अधिकार दिनुपर्ने माग गरेका छन् । उनले विगतमा नेपाली जनतालाई ढाँटेर राजनीति गरेका दलका नेताहरूलाई अबको निर्वाचनमा मत नदिन आग्रह गरेका छन् ।

सो पार्टीको शनिबार बुटवलमा आयोजित लुम्बिनी प्रदेश भेलालाई सम्बोधन गर्दै लामिछानेले अब नयाँ पार्टीलाई परीक्षण गरेर हेर्नका लागि आग्रह गरे । उनले अबको नयाँ पुस्तालाई देशको संवाहक बनाउन आफू राजनीतिमा आएको बताए । ‘पुराना दलले के काम गरे मैले तपाईंहरूलाई भन्नुपर्दैन, पुराना दलका योजना हेर्नुहोस्, नेतृत्व हेर्नुहोस्, कार्यशैली हेर्नुहोस्’, उनले भने ।

लामिछानेले अब यस्ता काम नगर्ने नेतृत्व र ठूला भनिएका पार्टीलाई चिन्ने बेला आएको बताए । ‘आफै पढेको त्रिचन्द्र कलेजको दुरावस्था हुँदा पनि सुधार्न नसक्नेहरूले के गर्छन्’ अध्यक्ष लामिछानेले प्रश्न गरे, ‘ठूला पार्टीहरूले तपाईहरूलाई झुक्याइरहेका छन्, त्यसैले यस पटक त्यस्ता झुटको पछि नलाग्नुस्, अब गल्ती गरेर देशलाई थप कमजोर बनाउनतिर नलाग्नुस् ।’

लामिछानेले ठूला भनिएका पार्टीले अब आगामी मंसिर ४ को निर्वाचनमा जनतासँग भोट माग्ने नैतिकता समेत नभएको बताए । ‘के गर्छौ र के दिन्छौँ भनेर भोट माग्छन् ? उनले भने– ‘थप झुक्याउनका लागि ठूला भनिएका दलहरूसँग नारा नै छैन ।’

उनले मतदाता मासु भातमा बिक्छन् भन्ने आरोप लाग्ने गरेकाले त्यसलाई यसपटक तोड्नुपर्ने बताए । यसपटक चुनावका दिन एकादशी र आइतबार रविवार परेको प्रसंग उल्लेख गर्दै उनले मासु भातले समेत काम नगर्ने संकेत गरे । उनले अहिले पनि जनताको समस्या सञ्चारमाध्यमले मात्रै उठाउनुपर्ने र सुन्ने प्रवृत्ति रहेकाले आफ्नो पार्टी सिंहदरबारले सुन्नुपर्छ भन्ने मान्यतामा रहेको बताए । लामिछानेले अवसरका लागि यो समूहमा आउनुभएको भए अहिले नै बिदा हुन आग्रह गर्दै काम गर्नेका लागि मात्रै यो पार्टीमा ढोका खुला रहेको दावी गरे ।