२०८२, श्रावण १८ गते

Aug 03 2025 | २०८२, श्रावण १८ गते

नेपाली नागरिकलाई नागरिकता पाउने सुनिश्चितता संविधानले गरेको छ : गृहमन्त्री खाँण

शुक्रवार , श्रावण २७, २०७९

भैरहवा, २७ साउन ।
गृहमन्त्री बालकृष्ण खाँणले सम्पूर्ण नेपाली नागरिकलाई नागरिकता पाउने सुनिश्चतता नेपालको संविधानले नै गरेको बताएका छन् । उनले नेपालका सबै नागरिकलाई नागरिकताको प्रमाणपत्र दिनुपर्छ भनेर पछिल्लो समय संघीय कानूनको आवश्यकता भएपछि नागरिकता विधेयक संसद्बाट पास गरिएको बताए । नेपालको नागरिकता प्राप्त नागरिकको सन्तानले नागरिकता पाउने व्यवस्था संविधानमा रहेको उनले बताए । नेपाली नागरिकसँग विवाह गरेका विदेशी महिलाले चाहेमा अंगीकृत नागरिकता पाउने विषय संविधानमा उल्लेख भएको उनको भनाइ छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीले शुक्रबार भैरहवामा आयोजना गरेको १२ वर्ष उमेर माथिको कोभिड–१९ विरुद्धको पहिलो श्रृंखलाको पूर्ण खोप तथा १५ महिनासम्मका बालबालिकाहरुको पूर्ण खोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा समारोह कार्यक्रममा सम्बोधन गर्दै गृहमन्त्री खाँणले प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा २२ महिनासम्म नागरिकता विधयेकको बारेमा छलफल भएको र सहमति जुट्न नसकेपछि समितिले प्रतिनिधिसभामा फर्काएको बताए ।

उनले भने, ‘पूर्ववर्ती सरकारले पेश गरेको नागरिकता विधेयक राज्य व्यवस्था तथा सुशासन समितिले संसोधन समेत गरेर प्रतिवेदनको रुपमा प्रतिनिधिसभामा पठायो, प्रक्रियागत रुपमा आयो ।’ उनले त्यो प्रतिवेदनलाई पूर्ववर्ती सरकारले गम्भिरतापूर्वक नलिएको बताए । सरकारले प्रतिनिधिसभा विघटन गर्नुअघि त्यसका बारेमा कुनै चासो नलिएको बताए । गृहमन्त्री खाँणले प्रतिनिधिसभा आफै भंग गरेपछि सरकारले ल्याएको अध्यादेश राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कार्यान्वयनमा आएर १८ दिनसम्म अध्यादेशकै आधारमा नागरिकता वितरण गरिएको बताए । उनले सर्वोच्च अदालतले नागरिकता जस्तो संवेदनशील विषयमा सरकारले अध्यादेशमार्फत मात्र ल्याएर हुँदैन भनेपछि त्यो प्रतिनिधिसभा र राष्ट्रियसभामा नागरिकता विधेयकको रुपमा अघि बढाइएको बताए ।

उनले भने, ‘पूर्ववर्ती सरकारले ल्याएकै विधेयकअनुसार सबैको सहमतिमा नागरिक विधयेक पारित भएको छ ।’ उनले नागरिकता विधयेकका विषयमा जनतालाई भ्रम फैलाउन नहुने जनाए । गृहमन्त्री खाँणले तोकिएको समयमै निर्वाचन हुने बताए । ‘निर्वाचन तोकिएकै समयमा भयरतिह, स्वच्छ वातावरणमा सम्पन्न हुन्छ’, उनले भने । सरकार निर्वाचनको तयारीमा लागिसकेको उनको भनाई छ ।उनले कोभिड महामारीविरुद्ध खट्ने सम्पूर्ण नागरिकलाई धन्यवाद दिए ।