
मंगलवार , श्रावण ३१, २०७९
भैरहवा, ३१ साउन ।
सरकारले दर्ता गरेको नागरिकता विधेयक प्रतिनिधिसभा तथा राष्ट्रियसभाबाट बहुमतले पारित गरी राष्ट्रपति कार्यालयलाई प्रमाणीकरणको लागि पठाउँदा त्यो विधेयक राष्ट्रपतिबाट फिर्ता भएको भन्दै जनता समाजवादी पार्टी, नेपाल (जसपा) जिल्ला समन्वय समिति रुपन्देहीले विरोध गरेको छ ।
१५ दिनसम्म कुनै जवाफ बिना अचानक सरकारलाई पुर्नविचार गर्न भनी पठाइएको कार्यले देशका सम्पूर्ण नागरिकताबिहीनमाथि राष्ट्रपतिद्वारा ठूलो कुठाराघात भएको महसुस भएको भन्दै जसपा रुपन्देहीले मंगलबार प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ ।
विगतमा केपी ओली नेतृत्वको सरकारले ल्याएको नागरिकता अध्यादेशलाई तुरुन्त प्रमाणीकरण गर्ने राष्ट्रपतिले विधेयकलाई विधिपूर्वक दुवै सदनबाट पारित गराएर प्रमाणीकरण गर्न पठाउँदा फिर्ता गर्नुले राष्ट्रपतिको दलीय नियत सपष्ट देखिएको पार्टीका रुपन्देही जिल्ला अध्यक्ष राम अवतार यादवले बताए ।
‘नागरिकता विधेयकलाई यथाशिघ्र दुवै सदनमा प्रस्तुत गरी विधिवत रुपले पारित गराइ देशमा सम्पूर्ण नागरिकताबिहीन नेपाली नागरिकहरुलाई नागरिकता प्राप्त गर्ने मार्गप्रशस्त गराउन माग गर्दछौं, ’ज्ञापनपत्रमा उल्लेख छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij