
शनिवार , भाद्र २५, २०७९
बुटवल, २५ भदौ ।
नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले गठबन्धन सरकार राष्ट्रियताप्रति गैरजिम्मेवार बनेको बताएका छन् । शनिबार बुटवलमा एमाले निकट प्राध्यापकहरुसंगको अन्तरक्रियामा नेता पौडेलले गठबन्धनका दलहरुमा सिटको भागबण्डामा झिनाझपटी भइरहेको बताए ।
आफूले बढी सिट हात पार्न नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले कांग्रेससंग घुर्की लाउने र बार्गेनिङ गर्ने गरेको पौडेलले टिप्पणी गरे । ‘कांग्रेसको पछि लाग्ने अनि उसैलाई हामीलाई नहेप भनेर घुर्की लाउने गरेका छन्’–पौडेलले भने–‘कांग्रेसको पछि लागेपछि उसले उब्रेको दिने त हो, लात पनि हान्छ, उनीहरुले सगौरव लात खानुपर्छ ।’
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले एमालेसंग एक्लै लड्न नसकेर गठबन्धन गर्नुपरेको स्वीकार गरिसकेको उल्लेख गर्दै नेता पौडेलले यसबाट एमाले नै देशको सबैभन्दा बलियो शक्ति भएको पुष्टी भएको बताए ।
वैवाहिक अंगिकृत नागरिकताको हकमा समय सीमा नराख्ने सरकारको प्रावधानले कालान्तरमा नेपालीहरु आफ्नै देशमा अल्पमतमा पर्ने खतरा रहेको उनले औंल्याए । ‘नेपाल अर्बौं जनसंख्या भएका दुई छिमेकी देशको बीचमा छ, राष्ट्रियताप्रति गठबन्धन सरकारको असंवेदनशीलताले भविष्यमा नेपालमा नेपालीहरु नै अल्पमतमा पर्ने अवस्था नआउला भन्न सकिन्न’–पौडेलले भने–‘समय सीमा नराख्ने हो भने एकजनाले सम्बन्धबिच्छेद गर्दै ७ जना विदेशीसंग बिहे गर्न सक्छन्, यहाँ विवाह गराउने कम्पनी नै खुल्न सक्छन् ।’
अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम पनि एमालेको विरोधले रोकिएको दावी गर्दै पौडेलले गठबन्धनका दलहरु विदेशीसामु आत्मसमर्पण गरेर सत्ता जोगाउन तल्लीन रहेको आरोप लगाए । नेता पौडेलले आगामी निर्वाचनमा एमालेले बहुमत नपाए राष्ट्रियता झनै संकटमा पर्ने र देश दुर्घटनामा पर्ने भन्दै एमालेको नीति र विगतमा गरेका राम्रा कामको प्रचार गरी जनमत सिर्जना गर्न प्राध्यापकहरुलाई निर्देशन दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij