
आइतवार , मंसिर २१, २०७७
भैरहवा, २१ मंसिर ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राष्ट्रियसभाका मुख्य सचेतक खिमलाल भट्टराईले नेकपा सचिवालय समस्या समाधानमा असफल देखिएको बताएका छन् । उनले परिस्थितिले सचिवालयलाई असफल हुने अनुमति नदिएको बताए ।
आइतबार सामाजिक संजाल फेसबुकमा भट्टराईले लेखेका छन, ‘स्थायी समितिका कमरेडहरु यतिबेला सिंगो नेकपा पंक्तिले तपाईंहरुतर्फ आशाको नजरले हेरिरहेको छ । नेकपाभित्रको संकट समाधानमा यहाँहरु सफल हुनुहोस् हृदयको गहिराईबाट मंगलमय शुभकामना छ । पार्टी नेतृत्वमा देखा परेको संकट असाध्यै पेचिलो छ । वहाँहरुको मन तुन्नबुन्न यहाँहरुलाई कम कठीन हुनेछैन ।
महाधिवेशनबाट अध्यक्ष र निर्वाचनपछि प्रधानमन्त्री छोड्छु भनिरहेका केपी ओलीलाई भर्खरै नहटाइ नछाड्ने प्रचण्ड र माधव नेपाल कमरेडहरुको अडान पटक्कै औचित्यपूर्ण नरहेको भट्टराईको भनाइ छ ।
नेकपा केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला सह-इञ्चार्ज समेत रहेका भट्टराईले अध्यक्ष हुन महाधिवेशन र प्रधानमन्त्री हुन निर्वाचनसम्म पर्खनुहोस भन्ने केपी ओलीको विनम्र अनुरोधलाई अस्वीकार गरेर महासंकट सिर्जना गर्ने कुरालाई कसरी जायज मान्ने भन्दै प्रश्न गरेका छन् ।
यही कारणबाट पार्टी विभाजन हुने र आन्दोलनका उपलब्धीहरु, मुलुकको राजनीति, संविधान र व्यवस्थामाथि नै संकट निम्तिने खतरापूर्ण अवस्था आउनु दुर्भाग्यपूर्ण हुने उनको भनाइ छ ।
भविष्यमा यसको औचित्य कसैले पुष्टि गर्न नसक्ने र विश्व कम्युनिष्ट आन्दोलनको लागि उदाहरणीय तथा अनुकरणीय बनिरहेको नेपालको कम्युनिष्ट आन्दोलनमाथि कुठाराघात हुने उनको भनाइ छ ।
महाधिवेशन छिटो आयोजना गरी त्यहीबाट नीति, विधि र नेतृत्वको छिनोफानो गर्न नेता भट्टराईले आग्रह गरेका छन् । मन्त्रीमण्डल पुनर्गठन, प्रदेशमन्त्री मण्डल हेरफेर, राजनीतिक नियुक्ति आदिको प्रबन्ध सहमति र समझदारीबाट गर्न उनको आग्रह छ ।
‘निर्वाचनसम्म राजनीतिक स्थायीत्वको सुनिश्चितता गरौं, यतिमात्रैले पनि कम्युनिष्ट आन्दोलनको लागि एउटा गौरवपूर्ण इतिहास कोरिनेछ । भावी पुस्ताले गर्वसाथ भन्न पाउनेछ कम्युनिष्ट पार्टीले देशलाई स्थायीत्व दिएको थियो भनेर, उनले भने ।
नेपाली जनताले नेपाल कम्युनिष्ट पार्टीलाई दिएको यो ऐतिहासिक अवसरलाई सफल बनाउन र जनताको सपनालाई तुषारापात हुन नदिन उनले आग्रह गरेका छन् ।
‘स्थायी समितिका कमरेडहरु, पार्टीलाई एकताबद्ध बनाउन सफल हुनुहोस् । यहाँहरुलाई शुभकामना धेरै धेरै । यहाँहरू सफल हुँदा देश र कम्युनिष्ट आन्दोलन सफल भइरहेको हुनेछ । कमरेडहरू नेताहरूको मन तुन्नुहोस्, उनले भने ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij