बिहिवार , आश्विन २९, २०८३
बुटवल, २९ असोज । रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित तथा समानुपातिक सांसदहरूले यातायात व्यवसायीका समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् । उनीहरूले समयअनुसार परिमार्जन गर्नुपर्ने कानून संशोधन, यातायात क्षेत्रको व्यवस्थापन र व्यवसायीका समस्या समाधानका विषयमा सरकारको ध्यानाकर्षण गराउने बताएका हुन् ।
पश्चिम नेपाल बस व्यवसायी प्रा.लि., बुटवलले विजया दशमी, दीपावली, छठपर्व तथा नेपाल सम्वत लगायतका चाडपर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्यहरू सुलभ खरेल, मञ्जु भुसाल र अमृता विकले विद्यमान कतिपय कानून अव्यवहारिक रहेकाले समयसापेक्ष सुधार आवश्यक रहेको बताउनुभयो । उहाँहरूले नीतिगत जटिलता र कानूनी प्रक्रियाका कारण सरकारले जनअपेक्षाअनुसार काम गर्न कठिनाइ भइरहेको उल्लेख गर्दै सुशासन र तीव्र विकासका लागि आवश्यक कानूनी सुधारमा जोड दिनुभयो ।
सांसद् सुलभ खरेलले तीन तहका सरकारबीच समन्वयको अभाव, आ–आफ्नै नीति तथा कानून, विकासका जटिल प्रक्रिया, नवीन सोचको कमी तथा सुशासन र नियमनका कमजोरीले सरकारी कामकारवाही प्रभावित भइरहेको बताउनुभयो ।
नयाँ कानून निर्माण तथा पुराना कानूनलाई समयानुकूल संशोधन गर्ने कार्यलाई वर्तमान सरकारले प्राथमिकतामा राखेको जानकारी दिँदै उहाँले यातायात क्षेत्रलाई व्यवस्थित र चलायमान बनाउन सम्बन्धित कानूनसमेत संशोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सांसद मञ्जु भुसालले देशमा तीव्र पूर्वाधार विकास र सुशासन कायम गर्न सरकार तथा संसद् प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले सुकुम्बासी समस्या समाधान लगायतका विषयमा पनि सरकारले काम अघि बढाएको जानकारी दिनुभयो ।
त्यस्तै सांसद अमृता विकले यातायात क्षेत्रसहित सम्पूर्ण व्यवसायीका हकहित संरक्षण र समस्या समाधानका लागि आफूहरू दृढतापूर्वक साथ दिएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.का अध्यक्ष दधिराम खरेलले पेट्रोलियम पदार्थको मूल्यवृद्धि, बढ्दो सञ्चालन खर्च, सवारीसाधनको संख्या वृद्धि र सरकारी नीतिका कारण यातायात व्यवसायी समस्यामा परेको उल्लेख गर्नुभयो । विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै गए पनि पर्याप्त चार्जिङ स्टेशन, पार्टपूर्जा उपलब्धता, मर्मतसम्भार र सञ्चालन दूरीसँग सम्बन्धित चुनौती कायमै रहेको उहाँको भनाइ थियो । अध्यक्ष खरेलले यातायात क्षेत्रका समस्या समाधानका लागि कानूनमा सुधार, वैज्ञानिक आधारमा भाडादर निर्धारण, प्रभावकारी अनुगमन, बसपार्क तथा पार्किङ व्यवस्थापन र यात्रु तथा व्यवसायीमैत्री नीति निर्माण गर्नुपर्ने कुरामा जोड दिदै यसका लागि सांसदहरूमार्फत सरकारसँग आग्रह गर्नुभया ।
कार्यक्रममा सञ्चालकहरू रामचन्द्र भुसाल र मोहन पिएसले यातायात क्षेत्रका समस्या, व्यवसायीका माग तथा समाधानका सम्भावित उपायबारे जानकारी गराउनुभएको थियो । यातायात क्षेत्रलाई व्यवस्थित, सुरक्षित र दिगो बनाउन स्थानीय, प्रदेश र संघीय सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको पनि सहभागीहरूले बताएका थिए।
चाडपर्वका समयमा यात्रुको चाप बढ्ने भएकाले दुर्घटना न्यूनीकरण, सुरक्षित यात्रा र प्रभावकारी यातायात व्यवस्थापनमा सरकार, व्यवसायी, चालक, सहचालक तथा यात्रु सबै जिम्मेवार हुनुपर्नेमा पनि उनीहरूले जोड दिएका थिए ।
यातायात क्षेत्रका विद्यमान समस्या समाधानका लागि सांसदहरूले प्रतिबद्धता जनाए पनि कानूनी सुधार, भाडादर निर्धारण र पूर्वाधार व्यवस्थापनका विषयमा ठोस निर्णय तथा कार्यान्वयनको प्रतीक्षा भने कायमै छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij