
आइतवार , आश्विन ९, २०७९
बुटवल, ९ असोज ।
नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी चुनावमा एमालेले अत्याधिक बहुमत ल्याउने बताएका छन् । जनताको अदालतमा आँट नभकाहरुले सर्वाेच्चमा मुद्दा हालेर देशलाई धरासायी बनाएर गठबन्धनको काममा लागेको भन्दै उनले अब भने जनताले वास्तविक देशलाई माया गर्ने पार्टी चिनेको बताए ।
एमाले बुटवल उपमहानगरपालिका वडा नम्बर ६ कमिटीको आयोजानमा बुटवलमा भएको विजया दशमी, दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले अहिलेको गठबन्धन सरकारले आर्थिक वृद्धिदर सकारात्मक बनाउनको लागि ठोस पहल गर्न नसकेको बताए । उनले अहिलेको गठबन्धन सरकारले जनताको पक्षमा कुनै पनि सकारात्मक काम गर्न नसकेको बताए । उनले आगामी निर्वाचन समाजवाद, समृद्धितर्फ लैजाने कि अधोगतितर्फ लैजाने भन्ने कुराको फैसला गर्ने दिन भएको बताए । उनले भने, ‘जनताको पक्षमा काम गर्ने प्रतिबद्ध पार्टी नै नेकपा एमाले हो ।’
अहिलेको गठबन्धन एमालेसँग एक्लै प्रतिष्पर्धा गर्न नसकेकपछि गरिएको गठबन्धन रहेको भन्दै देशकै सबैभन्दा बलियो पार्टी नै एमाले भएको भन्दै उनले सरकारमा नै बसेर चुनाव लड्न नसकेपछि गठबन्धन गरिएको बताए । गठबन्धनको सिद्धान्त मिलेर देश लुट्ने र बाँडेर खाने योजनामा रहेको भन्दै उनले गठबन्धनमा कुनै पनि एजेण्डा नभएको र घोषाणापत्र तथा भावी प्रधानमन्त्रीको समेत निर्क्यौल गर्न नसक्ने भ्रम मात्रै चिर्ने गठबन्धन भएको बताए ।
कार्यक्रममा पार्टीका लुम्बिनी प्रदेश उपाध्यक्ष तथा पूर्वमन्त्री भोज प्रसाद श्रेष्ठले आगामी निर्वाचनमा एमालेको बहुमत ल्याउने बताए । यो चुनावमा सत्ता गठबन्धनका विरुद्धमा एमालेको जनलहर सुरुवात भएको भन्दै सोही अनुसारको तयारीमा पार्टी रहेको बताए । पार्टीको विचार, दृष्टिकोण, अभियान टोलटोलमा गएर संगठन विस्तारमा लाग्न समेत उनले अग्रह गरे । चुनावमा जनताको भरोसाको केन्द्र नै एमाले रहेको भन्दै उनले कार्यकर्तालाई जनताको पक्षमा खरोरुपमा लाग्न समेत आग्रह गरे ।
कार्यक्रममा बोल्दै एमाले केन्द्रीय सदस्य तथा बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रा अर्यालले देश विकासको प्रमुख मेरुदण्ड नै एमाले भएको बताउँदै आगामी चुनावमा पार्टीलाई बहुमतका साथ जिताउनुपर्ने बताईन । अहिले देश मात्रै नभइ विदेशबाट समेत प्रतिक्रियावादी शक्ति लागिपरेको भन्दै यसलाई परास्त गर्न सबै लाग्नुपर्ने उनले बताइन् । अर्यालले बुटवलको मेयर पदमा विविध कारणले पराजय व्यहोर्नुपरेको भन्दै यसको मल्हम पार्टीको मंसिर ४ मा हुने निर्वाचनबाट लगाउनको लागि कार्यकर्तालाई आग्रह गरिन् ।
कार्यक्रममा बोल्दै पार्टीका निर्देशन कमिटीका संयोजक राम प्रसाद खरेलले पार्टी सदस्यलाई जोड्ने अभियानको लागि कार्यक्रम आयोजना गरिएको जानकारी दिदै आगामी निर्वाचनमा एमाले पहिलो पार्टी र बहुमतको पार्टी बनाउने प्रण समेत गरे ।
कार्यक्रममा पार्टीका प्रदेश कमिटी सदस्य बाबुराम भट्टराई, रुपन्देही जिल्ला कमिटी अध्यक्ष तेजेन्द्र केसी, युवा नेता राजकुमार भट्टराई, पार्टीका बुटवल उपमहानगरपालिका वडा नम्बर ६ का उपाध्यक्ष थानेश्वर आचार्य लगायतले आ–आफ्ना भनाइ राखेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij