
आइतवार , आश्विन १६, २०७९
भैरहवा, १६ असोज ।
मुलुकमा भएको परिवर्तनमा जनता समाजवादी पार्टी, नेपाल (जसपा) को भूमिका महत्वपूर्ण रहेको पार्टीका नेताहरुले दावी गरेका छन् । उनीहरुले विगतमा भएको आन्दोलनका कारण मुलुकमा संघीयता लगायत महत्वपूर्ण परिवर्तन आएको बताएका हुन् ।
बडादशैं, दिपावली तथा छठपर्वको अवसरमा जसपा क्षेत्रीय समन्वय समिति क्षेत्र नम्बर १, रुपन्देहीले आइतबार रोहिणी गाउँपालिका–३ स्थित धकधईमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्ने नेताहरुले जसपाको अगुवाइ र नेतृत्वमा भएको आन्दोलन र संघर्षले मुलुकमा विभिन्न परिवर्तन आएको बताए ।
कार्यक्रममा जसपाका संघीय परिषद् सदस्य तथा रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले संघीयता आउनुमा जसपा र पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको महत्वपूर्ण भूमिका रहेको बताए । उनले विभिन्न आन्दोलनका कारण संघीयता तथा स्थानीय सरकारको स्थापना भएपछि जनताले घरदैलोमा सरकारको अनुभुति गर्न पाएको बताए । नेता यादवले भने, ‘संघीयता आएपछि भ्रष्टाचार बढ्यो भनेर भ्रम फैलाइँदैछ, संघीयतालाई कमजोर बनाउने खेल भइरहेको छ । ’संघीयता अझै पनि पूर्ण रुपमा कार्यान्वयन हुन नसकेको उनले बताए । उनले पदमा पुग्नु भन्दा पदमा रहँदा के काम गर्न सकियो भन्ने विषय महत्वपूर्ण रहेको बताए । कसले कुन क्षेत्रमा कति विकास गर्यो भन्ने कुराको मुल्यांकन गर्ने समय आएको उनको भनाइ थियो । उनले रोहिणी गाउँपालिकाको गाउँपालिका भवन, १५ शैयाको अस्पताल र क्याम्पस सञ्चालनका लागि लगिपरेको बताए । उनले आफू निरन्तर जनताको सुखदुःखमा साथ रहने बताए ।
समाजवादी युवा संघ, नेपालका केन्द्रीय उपाध्यक्ष तथा युवा नेता असलम खानले एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले जसपाको सहयोगले नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्न पाएको दावी गरे । उनले भने, ‘आगामी निर्वाचनमा एकताबद्ध भइ इमान्दारीपूर्वक लागौं ।’
जसपाका नेता मात्रिका प्रसाद यादवले रुपन्देही क्षेत्र नम्बर १ मा अन्य पार्टी भन्दा जसपा बलियो रहेको दावी गरे । उनले पार्टीले दिएको जिम्मेवारी आफूले पूरा गर्ने प्रतिवद्धता व्यक्त गरे ।
रोहिणी गाउँपालिका–५ का वडाअध्यक्ष घनश्याम सिंह क्षेत्रीले विगतमा एकताबद्ध भएर अघि बढे जस्तै आगामी निर्वाचनमा पनि एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरे ।
पार्टीका नेता कलामुद्दीन खान, भरथरी यादव, रामाशंकर यादव, समाजसेवी सतिशचन्द्र मिश्रा, युवा नेता शेषमणि यादव, विनय कुमार यादव, राजधर हरिजन लगायतले बोल्दै निर्वाचन जित्न अभियानमा लाग्न आग्रह गरे । उनीहरुले जसपाले सम्मानजनक सिट पाउनुपर्ने माग गरे ।
जसपा क्षेत्रीय समन्वय समिति क्षेत्र नम्बर १, रुपन्देहीका अध्यक्ष व्यासमुन थारुको अध्यक्षता, रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवको प्रमुख आतिथ्यता, युवा नेता तथा रोहिणी गाउँपालिका–३ का वडा सदस्य जुद्ध प्रकाश चौधरीको स्वागत तथा मनोज कुमार यादवको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij