
मंगलवार , मंसिर २३, २०७७
काठमाडौं, २३ मंसिर ।
सरकारले प्रमुख श्रम गन्तव्य मुलुकमा भिजिट भिसामा जान कडाइ गर्न थालेको छ । अघिल्लो हप्ताबाट विमानस्थलमा भिजिट भिसामा वैदेशिक रोजगरीका लागि हिंडेका शंकास्पद श्रमिकमाथि कडा चेकजाँच सुरु गरिएको अध्यागमन विभागले बताएको छ । भिजिट भिसा लिएर श्रमिकहरु असुरक्षित रुपमा विदेशिन थालेको गुनासो बढेपछि गृह मन्त्रालय र अध्यागमन विभागले भिजिट भिसामा थप कडाइ गर्न अध्ययन पनि थालेका छन् ।
गृह मन्त्रालयले भिजिट भिसामा जाने श्रमिकलाई रोक्नेबारे अध्ययनसहित सिफारिस गर्न उपसचिव रुद्र पण्डितको संयोजकत्वमा एक कार्यदल नै बनाएको छ । अध्यागन विभागले पनि स्वतःस्फूर्त रुपमा श्रमका लागि भिजिट भिसा लिएर जानेलाई रोक्नका लागि भन्दै आन्तरिक गृहकार्य थालेको बताएको छ ।
अध्यागमन विभागका महानिर्देशक रमेशकुमार केसी अब भिजिट भिसामा जानेलाई आवधिक बिमा अनिवार्य गर्नेबारे छलफल भइरहेको बताउँछन् । उनका अनुसार स्थानीय तहको सिफारिस पत्र र भ्रमणको भिसाबाहक व्यक्तिको परिवारको एकाघरको सदस्यको मञ्जुरीपत्र पनि अनिवार्य गर्नेबारे छलफल भइरहेको उनले बताए ।
‘भिजिट भिसामा जानेहरुका लागि अहिले अनिवार्य गरिएका बाहेकका के–के व्यवस्था गर्न सकिन्छ भनेर अध्ययन गर्दैछौं,’उनले भने,’कार्यविधिमा नै आवश्यक संशोधन गरेर श्रमिकहरुलाई भिजिट भिसामा विदेश लैजान रोक्न प्रयास गर्छौं ।’
अहिले होटल बुक गरेको प्रमाण, दुईतर्फी हवाई टिकट, स्पोन्सरसिप लेटर र एकहजार अमेरिकी डलर बोकेकालाई त अध्यागमनले रोक्न पनि सक्दैन । यसरी जानेहरुमाथि शंका लागेमा अध्यागमनका अधिकारीहरुले सोधपुछ गर्न सक्छन् । तर, अध्यागमनमा कडाइ नगरिँदा भिजिट भिसामा श्रमिक विदेश पु¥याउने क्रम बढेको छ ।
कानूनअनुसार रोजगारीका लागि विदेश जानुअघि श्रम स्वीकृति लिनुपर्छ, वैदेशिक रोजगार कल्याणकारी कोषमा शुल्क तिर्नुपर्छ र आवधिक जीवन बिमा गर्नपर्छ । यसरी प्रक्रिया पूरा गरेर जाँदा समस्या परे सम्बन्धित म्यानपावर कम्पनी र रोजगारदाता जिम्मेवार हुन्छन् ।
तर भिजिट भिसामा गएर रोजगारी गर्न खोज्नेहरु ठगिए वा अरु कुनै समस्यामा परे आफैं जिम्मेवार हुन्छन् । उनीहरुले सहयोग तथा उद्धार सुविधा पाउन पनिक मुस्किल पर्छ । त्यसेले वैदेशिक रोजगारका जानकारहरु श्रमिकको भिजिट भिसालाई ‘जुवा’ मान्छन् ।
तर, पछिल्ला समय प्रलोभनमा पारेर युवालाई विदेश पु¥याउने क्रम बढ्न थालेको छ । कोरोना माहामारीका कारण बन्द भएको अन्यतराष्ट्रिय उडान पुनः सुचारु भएसँगै भिजिट भिसामा जानेको संख्यामा बढेको छ । खासगरी देशभित्र रोजगारी पाउन नसकेका युवा तस्करको प्रलोभनमा परेर विदेश पुगिरहेका छन् । केही ट्राभल एजेन्सी र कन्सल्टेसीले पनि सामाजिक सञ्जालहरुमा भिजिट भिसाको विज्ञापन गरिरहेका छन् । खाडी मुलुकहरुको अवधिअनुसार भिसाको शुल्क तोकिएका छन् । कतिपय विज्ञापनमा रोजगारीको ग्यारेन्टी गरिएको छ ।
वैदेशिक रोजगार व्यवसायी संघका अनुसार यूएई, बहराइन लगायत मुलुकमा भिजिट भिसामा गएकाहरुले रोजगारदाताको स्वीकृतिमा वर्किङ भिसा पाउँछन् । केही वर्षदेखि मानव तस्करहरुले यसलाई धन्दाका रुपमा विकास गरेको भन्दै वैदेशिक रोजगार व्यवसायी संघले चिन्ता प्रकट गर्दै आएको छ । अध्यागमन विभागमा अनुसार कात्तिक यता मात्रै यूएईमा ५ हजार भन्दा बढी भिजिट भिसामा पुगेका छन् ।
संघका महासचिव सुजित श्रेष्ठका अनुसार यूएईमा भिजिट भिसामा जानेहरु धेरैजसो १९–३० वर्ष उमेर समूहका छन् । भिजिट भिसामा यूएईमा पुगेर अलपत्र परेका उनीहरुमध्ये केहीले संघमा उजुरी दिएको उनको भनाइ छ । श्रेष्ठका अनुसार, भिजिट भिसामा लगेर आकर्षक रोजगारी दिने प्रलोभनमा ४ लाखसम्म असुल्ने गरिएको छ ।
भिजिट भिसाका नाममा भइरहेको ‘मानव तस्करी’ रोक्ने मुख्य जिम्मेवारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको हो । तर, मानव तस्करहरुले विमानस्थलमा सेटिङ मिलाएको आरोप लाग्दै आएको छ । अनलाइनखबर
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij