२०८२, श्रावण २४ गते

Aug 09 2025 | २०८२, श्रावण २४ गते

रूपन्देहीमा १५ सिटका लागि १९८ जनाको उम्मेदवारी

सोमवार , आश्विन २४, २०७९

भैरहवा, २४ असोज । 
रुपन्देहीमा प्रतिनिधि र प्रदेशसभा सदस्यमा १५ सिटका १९८ जनाको उम्मेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाकाअनुसार पाँच जना प्रतिनिधिसभा सदस्यका लागि जिल्लामा ८६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै १० प्रदेशसभा सदस्यका लागि ११२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभामा २० र प्रदेशसभामा २३ जनाको उम्मेदवारी दर्ता भएको छ । यहाँ प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का सचिव तथा पूर्वमन्त्री छविलाल विश्वकर्मा तथा एमाले परित्याग गरेका पूर्व उपमहासचिव घनश्याम भुसालले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । विश्वकर्मा २०७४ सालको निर्वाचनमा पनि क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । भुसालले सतारुढ गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् । विश्वकर्मालाई राप्रपा र जसपाले समर्थन गरेको छ ।

क्षेत्र नम्बर २ मा प्रतिनिधिसभामा १६ जनाले उम्मेदवारी दिएका छन् । प्रदेशसभा तर्फ २१ जनाको मनोनयन भएको छ । क्षेत्र नम्बर २ मा एमालेका उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उम्मेदवारी दिएका छन् । उनले यो क्षेत्रबाट लगातार तीनपटक जितसकेका छन् । यो क्षेत्रमा सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का नेता राजु गुरुङले उम्मेदवारी दिएका छन् ।

त्यस्तै क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभामा २२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यहाँ प्रदेशतर्फ २४ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधिसभामा गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँण, राप्रपाका वरिष्ठ नेता तथा पूवमन्त्री दीपक बोहराले उम्मेदवारी दर्ता गराएका छन् । बोहरालाई एमाले र जसपाले समर्थन गरेका छन् । २०७४ को निर्वाचनमा यहाँ एमालेका घनश्याम भुसाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभातर्फ १३ जना र प्रदेशतर्फ १८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभामा कांग्रेसबाट युवा नेता प्रमोद कुमार यादव, लोसपाबाट पूर्वमन्त्री सर्वेन्द्रनाथ शुक्ला, जसपाबाट पूर्व राज्यमन्त्री ओमप्रकाश यादव (गुल्जारी) र जनमत पार्टीबाट भोपेन्द्र प्रसाद यादवले उम्मेदवारी दर्ता गरेका छन् । २०७४ सालको निर्वाचनमा यहाँ कांग्रेसका उम्मेदवार प्रमोद कुमार यादव निर्वाचित भएका थिए ।

त्यसै गरी रुपन्देहीको क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभातर्फ १५ जनाको उम्मेदवारी परेको छ भने प्रदेश सभातर्फ २६ जनाको उम्मेदवारी दर्ता भएको छ । यो क्षेत्रमा प्रतिनिधिसभातर्फ कांग्रेसका भरत कुमार शाहले उम्मेदवारी दर्ता गराएका छन् । २०७४ सालमा पनि शाह प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

यहाँ एमालेबाट दुई जनाको उम्मेदवारी परेको छ । यो क्षेत्रमा एमालेका खिमलाल भट्टराई र बासुदेव घिमिरेले उम्मेदवारी दिएका हुन् । दुईमध्ये कसलाई आधिकारिक मान्ने भन्नेबारे निर्वाचन आयोगले निर्णय गर्न बाँकी छ ।

रुपन्देहीको कुन क्षेत्रमा कति उम्मेदवार ?

क्षेत्र नम्बर १

प्रतिनिधिसभा : २०
प्रदेशसभा (क) : १० 
प्रदेशसभा (ख) : १३

क्षेत्र नम्बर २ 

प्रतिनिधिसभा : १६
प्रदेशसभा (क) : ११
प्रदेशसभा (ख) : १०

क्षेत्र नम्बर ३

प्रतिनिधिसभा : २२
प्रदेशसभा (क) : १२
प्रदेशसभा (ख) : १२

क्षेत्र नम्बर ४

प्रतिनिधिसभा : १३
प्रदेशसभा (क) : ६
प्रदेशसभा (ख) : १२

क्षेत्र नम्बर ५

प्रतिनिधिसभा : १५
प्रदेशसभा (क) : १३
प्रदेशसभा (ख) : १३