२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

कोभिड-१९ को कहरका बावजुद पनि चिया क्षेत्रमा उपलब्धी हासिल  

बुधवार , मंसिर २४, २०७७

इलाम, २४ मंसिर । 
कोभिड–१९ को महामारीले विश्व बजारमा आर्थिक संकटमा परेको छ तर चिया उत्पादनको क्षेत्रमा भने असर पर्नुको सट्टा उपलब्धी हासिल भएको छ । तीन महिनाअघि चिया उद्योगलाई हस्तान्तरण गरेको नेपाल व्यापार चिन्ह अर्थात लोगो अंकित चिया भारत र अमेरिकामा स्वीकृत भएपछि चिया क्षेत्रमा पछिल्लो समय एकपछि अर्को उपलब्धी हासिल भएको हो । 

बेलाबेलामा आन्दोलन भइरहने र प्रायः अन्तरद्वन्द्व परिरहने चियामा पछिल्ला उपलब्धीलाई सुधारको संकेतका रूपमा हेरिएको छ । तीन महिनाअघि चियाको व्यापार चिह्न उद्योगलाई हस्तान्तरण गरिएको थियो । लोगो पाएपछि चियामा आशा पलाएको बताएका उद्योगीहरुले भारत र अमेरिकाले सो लोगो स्वीकृति जनाएपछि अझै खुशी देखिएका छन् । नेपाली चियालाई विश्व बजारमा चिनाउन लोगो निर्माण गरिएको हो । लोगो निर्माणपछि भारत, अमेरिका र युरोपियन युनियन(इयु)मा दर्ता गरिएको थियो । 

भर्खरै दुई देशले लोगो स्वीकृति दिएपछि अब नेपाली अर्गानिक (जैविक) चिया आफ्नै ब्राण्ड भएर विश्व बजारमा पुग्ने भएको छ । केन्द्रीय चिया सहकारी संघका महासचिव रवीन राईले भने ‘लोगोका लागि धेरै रस्साकस्सी गरियो तर पछिल्लो समय आशा पलाएको छ’ । नेपाली उत्पादन अर्थोडक्स चियालाई एउटै लोगो लगाएर पठाउन उद्योगीकै अगुवाइमा व्यापार चिह्न बनाइएको थियो । 

अहिले लोगो स्वीकृतिपछि नेपालको चिया विश्व बजारमा चिनिने भएको छ । विकास बोर्डका प्रवक्ता दीपक खनालले भने ‘स्वीकृति नै नभएको भए पनि सरकारले उद्योगीलाई दिएपछि बजारमा पठाउन सकिन्थ्यो, तर चिया तथा कफी सम्बन्धित देशले स्वीकृति दिएपछि चाहिँ लोगो प्रयोग गरेर चिया पठाउँदा बढी प्रभाव पर्छ ।’ नेपाली चिया भारत (दार्जिलिङ र कलकत्ता) को चिया भन्दा गुणस्तरीय भएको विज्ञ बताउँछन् तर आफ्नै लोगो नहुँदा केही समयअघिसम्म दार्जिलिङ र कलकत्ताकै चिया भनेर अन्तर्राष्ट्रिय बजारमा चिनिन्थ्यो । चिया बेच्न भारतकै भर पर्नुपर्दा भारतकै कारण विविध हैरान पनि नेपाली व्यवसायीले खेप्नुपर्यो । अब नेपाली चिया स्वायत्त भएको र अन्तर्राष्ट्रिय बजार बढ्ने चिया विज्ञ चन्द्र भूषण बताउँछन् । 

भारत र अमेरिकाले लोगो स्वीकृत गरे पनि हालसम्म युरोपियन युनियनले भने स्वीकृत गरिसकेको छैन । लोगो स्वीकृतिका लागि पठाउँदा युनियनले नेपाल र चियाको लोगो भएको ‘नेपाल टी हिमालयन’का नाममै प्रश्न उठाएको समेत सुनिएको थियो । त्यसैले युनियनबाट तत्काल लोगो स्वीकृति हुने छनक् नदेखिएको व्यवसायीहरु बताउँछन् तर यता बोर्डका कार्यकारी निर्देशक डा. विष्णु भट्टराईले भने इयुले यस्ता प्रश्न सोधेको भन्ने विषय आधिकारिक नभएको बताउँदै आएका छन् । 

लोगो मात्र होइन अर्को उपलब्धी स्वरुप नेपाली चियाको इतिहास झल्काउने र सबै उद्योगको चिया परीक्षण गर्ने उद्देश्यले केही समयअघि नेपालकै एक मात्र ‘चिया परीक्षण तथा प्रवर्द्धन केन्द्र’को शिलान्यास भएको थियो । इलामस्थित सूर्योदय नगरपालिकामा सो चिया परिक्षण तथा प्रबद्र्धन केन्द्र बन्ने भएको हो । लामो रस्साकस्सीपछि बन्न लागेको यो कार्यालयका कारण पनि चिया क्षेत्रमा अर्को आशा पलाएको छ ।

प्रदेश नम्बर १ सरकारको साझेदारीमा सूर्योदय नगरपालिकाले रु २३ करोड लगानी गर्ने भएको छ । प्रदेश सरकारको ७५ प्रतिशत र नगरपालिकाको २५ प्रतिशत लगानी रहने जनाइएको छ ।