२०८२, श्रावण २४ गते

Aug 09 2025 | २०८२, श्रावण २४ गते

लोकतान्त्रिक गठबन्धनको जीत अपरिहार्य : पुष्पा भुसाल

सोमवार , आश्विन २४, २०७९

अर्घाखाँची, २४ असोज । 
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पुष्पा भुसालले संविधानको रक्षा गर्दै संविधान बचाउन लागि लोकतान्त्रिक गठबन्धनको जीत अपरिहार्य रहेको बताएकी छन् । रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेशको आयोजनामा सन्धिखर्कमा सोमबार भएको साक्षात्कार कार्यक्रममा नेतृ भुसालले राष्ट्र र राष्ट्रियताको रक्षाका लागि पनि गठबन्धनको जीत सुनिश्चित रहेको बताइन् ।

उनले भनिन्, ‘अर्घाखाँची जिल्लामा निर्वाचनमा जित्नै पर्छ, गठबन्धन दल एकताबद्व रूपमा अगाडि बढेका छौं, जिल्लाको विकासका लागि काँग्रेसको योगदान धेरै छ । गरीब जनता धनी भए मात्रै विकासको महसुस हुने भएकाले कृषि र पशुपालनबाट जनताको आयस्तरमा वृद्धि हुने भएकाले गठबन्धनको जीत सुनिश्चित हुनुपर्छ ।’

प्रदेश सभा (क) का लोकतान्त्रिक गठबन्धनका उम्मेदवार तथा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य ठाकुर कुमार विकले पूर्वाधार विकाससँगै कृषि र पशुपालनको क्षेत्रलाई मुख्य प्राथमिकतामा राख्ने बताए ।

प्रदेश सभा (ख) का उम्मेदवार तथा काँग्रेसका नेता कमलप्रसाद भुसालले पर्यटनको क्षेत्रबाट अर्घाखाँचीमा विकास सम्भव भएको बताए । उनले अर्घाखाँचीको विकासका लागि सुपादेउराली आएका पर्यटकलाई सन्धिखर्क, अर्घा र मालारानी, छत्रदेव हुँदै पाणिनीसम्म लैजाने गरी वृहत् कार्ययोजना बनाएर अगाडि बढ्ने बताए ।

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार सुशीला श्रीपालीले राजनीतिक अस्तित्वका लागि अर्घाखाँचीमा गठबन्धनको जीत हुनुपर्ने बताइन् ।

नेपाली काँग्रेसका लुम्बिनी प्रदेश सह–महामन्त्री विष्णु मुस्कानले गठबन्धन एकजुट रहेको बताए । उनले अर्घाखाँचीको विकास र समृद्धिका लागि लोकतान्त्रिक गठबन्धनको जीत हुनुपर्ने बताए ।

सोही अवसरमा नेपाल प्रेस युनियनको केन्द्रीय सदस्यमा निर्वाचित प्रेमनारायण आचार्य, केन्द्रीय लेखा समिति सदस्य घनश्याम पौडेल र प्रेस चौतारी नेपाल केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष गणेश खनाललाई सम्मान गरिएको छ ।

कार्यक्रम रिपोर्टस क्लब नेपाल लुम्बिनीका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता तथा सदस्य रूद्रमणि भुसालको सञ्चालनमा सम्पन्न भएको थियो ।