२०८२, श्रावण २४ गते

Aug 09 2025 | २०८२, श्रावण २४ गते

गठबन्धनका उम्मेदवारलाई विजयी गराउन गृहमन्त्री खाँणको आग्रह

सोमवार , आश्विन २४, २०७९

भैरहवा, २४ असोज ।
गृहमन्त्री, नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार बालकृष्ण खाँणले राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षा गर्दै मुलुकलाई विकासको गतिमा अगाडी बढाउन गठबन्धन आवश्यक परेको भन्दै आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गरेका छन् । 

सत्ता गठबन्धनमा आबद्ध दलको सोमबार भैरहवामा बसेको जिल्लास्तरीय बैठकलाई सम्बोधन गर्दै उनले संविधान र लोकतन्त्रलाई नै खतरामा पारे पछि त्यसको रक्षाका लागि गठबन्धन बनेको स्मरण गराउँदै आगामी दिनमा मुलुुकको समृद्धि र विकासका लागि गठबन्धन अपरिहार्य रहेको समेत औल्याए । ‘गठबन्धन राष्ट्रिय आवश्यकता हो, उनले भने, ‘त्यसकारण गठबन्धनका उम्मेदवारलाई विजयी बनाऔं, सबै एकजुट भएर लागौं ।’ गठबन्धनलाई प्रभावकारी ढंगले टिकाउन नसके लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार हुने खतरा कायमै रहेको भन्दै उनले संवेदनशील बनेर निर्वाचनमा आफ्ना उम्मेदवार विजयी गराउन केन्द्रित हुन आग्रह गरे । राष्ट्रिय राजनीतिलाई स्थिरता प्रदान गर्न पनि गठबन्धनको विजयी जरुरी रहेकोमा उनको जोड थियो । ‘संविधानमा रहेका असन्तुष्टि सम्बोधन गर्न पनि दुईतिहाई जरुरी छ,’, उनले भने, ‘त्यसका लागि क्रियाशील हुनुस् । सानातिना मतमतान्तरमा नअल्झिनुुहोस् ।’

बैठकमा क्षेत्र नम्बर ३ (क) का उम्मेदवार सन्तोष कुमार पाण्डेय, (ख) का रामचन्द्र ढकालका साथै गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाको सहभागीता रहेको थियो । बैठकमा सहभागी नेताहरुले जिल्लामा गठबन्धनका उम्मेदवारलाई विजयी गराउन निशर्त रुपम सबै एक भएर लाग्ने प्रतिवद्धता जनाएका छन् । 

राष्ट्रियता, लोकतन्त्र, सविधानको रक्षा र विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धी रक्षाका लागि गठबन्धन अपरिहार्य भएको निकर्ष निकाल्दै गठबन्धनको केन्दीय निर्णयलाई आत्मसाथ गर्दै अगाडी बढ्ने र कही कतै जिल्लामा असन्तुष्टी देखिएमा त्यसलाई समाधान गर्दै अगाडी बढ्ने सहमति गठबन्धनमा आबद्ध जिल्ला नेताहरुले गरेका हुन् । पार्टीभित्र देखीएका असन्तुष्टी र गठबन्धनको निर्णयविरीत परेका उम्मेदवारी फिर्ता गराउने जिम्मा समेत सम्बन्ति पार्टीले लिएको नेपाली काँग्रेस क्षेत्र नम्बर ३ रुपन्देहीका सचिव तथा प्रवक्ता लेखनाथ भट्टराईले जानकारी दिए । 

बैठकमा नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँण, क्षेत्रीय सभापति सुशिल गुुरुङ, माओवादी केन्द्र रुपन्देहीका अध्यक्ष निर्मल जिसी, क्षेत्रीय संयोजक मनिष कुमार जोशी, नेकपा (एकीकृत समाजवादी) का लुम्बिनी प्रदेश सदस्य आनन्द प्रसाद गुुप्ता, कुलेन्द्र पुन, लोसपाका जिल्ला अध्यक्ष अजय वर्मा, जनमोर्चाका नेता बद्रे आलम लगायतका नेताहरु सहभागी भएका थिए ।