
मंगलवार , आश्विन २५, २०७९
भैरहवा, २५ असोज ।
जनमत पार्टी रुपन्देही क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारहरुले जनतालाई निःशुल्क बिजुली (विद्युत)को सुविधा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छन् । उनीहरुले आधुनिक कृषिको विकास र समृद्धिका लागि एक घर, एक कृषि मोटरसहित निःशुल्क बिजुली सुविधा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
मंगलबार भैरहवामा पत्रकार भेटघाट कार्यक्रममार्फत जनमत पार्टी रुपन्देही क्षेत्र नम्बर ४ को क्षेत्रीय घोषणापत्र सार्वजनिक गर्दै प्रतिनिधिसभा सदस्यका उम्मेदवार भोपेन्द्र प्रसाद यादवले सामन्तवादी, पुँजीवादी र जमिनदारी शासनका विरुद्धमा उम्मेदवारी दिएको बताए । उनले भने, ‘मर्चवारमा जनताको लागि रगत र पसिना बगाएको छु, जनताको सेवा गर्ने मौका पाउँदा त्यो अवसरबाट किन वञ्चित हुने ? ’उनले अहिलेसम्म निर्वाचित नेताहरु जनताको सेवक नभइ शासक भएको आरोप लगाए । नेता यादवले मर्चवारका जनतालाई भोट बैंकको रुपमा प्रयोग गरिएको र जनतामाथि शोषण गरिएको बताए । उनले भने, ‘मर्चवार पछाडी पर्नु यहाँबाट निर्वाचित नेताहरुका कारणले हो, अहिलेसम्म यहाँ सडक बन्न सकेनन्, जनता सिचाई सुविधाबाट वञ्चित भएका छन्, म जनताको सेवक हुँ, पटकपटक मलाई गिरफतार गरिएको छ । ’ यादव जनमत पार्टीका केन्द्रीय सचिव हुन् ।
त्यस्तै जनमत पार्टीबाट क्षेत्र नम्बर ४ (ख) मा प्रदेशसभा सदस्यका उम्मेदवार अर्जुन प्रसाद जैसवालले मालपोत र नापी कार्यालय मर्चवारमा ल्याउन आफूले पहल गरेको दावी गरे । उनले भने, ‘बुटवलमा मालपोत र नापी कार्यालय बुटवलमा विस्तार गर्दा मर्चवारमा पनि लैजानुपर्छ भन्ने आवाज निरन्तर उठायौं, अन्ततः ती कार्यालयहरु मझगावामा स्थापना भए । ’
उनले आफू निर्वाचित भए राम्रो काम गरेर देखाउने दावी गरे । नेता जैसवालले निर्वाचित भएपश्चात राम्रो काम गर्न नसके पुनः अर्कोपटक उम्मेदवारी नदिने बताए । उनले भने, ‘जनताले सम्झने खालका काम गर्नेछु, एकपटक मौका दिनुहोस्, लुम्बिनी प्रदेशमा आमूल परिवर्तन गरेर देखाउँछु ।’
जनमत पार्टीका केन्द्रीय सदस्य रामकेश गुप्ताले रुपन्देहीका पाँचमध्ये ४ वटा निर्वाचन क्षेत्रमा पार्टीबाट उम्मेदवारी दर्ता भएको बताए । क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यमा कैलाश गुरुङ, प्रदेशसभा १ (क) मा प्रदेशी केवट, १ (ख) मा अमेरिका यादव, क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्यमा प्रमोद कुमार राउत, प्रदेशसभा ३ (क) मा सलाउद्दीन आलम, ३ (ख) मा पोलिन्द्र पटेल, क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा सदस्यमा भोपेन्द्र प्रसाद यादव, प्रदेशसभा ४ (क) मा जितेन्द्रनाथ शुक्ल (बब्लु), ४ (ख) मा अर्जुन प्रसाद जैसवाल, क्षेत्र नम्बर ५ को प्रतिनिधिसभा सदस्यमा चन्द्रशेखर सोनार, प्रदेशसभा ५ (क) मा अनुरागनाथ शुक्ल र ५ (ख) मा चन्द्रकेश गुप्ता (सि.के.) गुप्ताले उम्मदेवारी दर्ता गराएको उनले जानकारी दिए ।
यस्तो छ जनमत पार्टी रुपन्देही क्षेत्र नम्बर ४ को घोषणापत्र
– सामन्तवादी, पुँजीवादी र जमिनदारी शासनका विरुद्धमा ।
– आधुनिक कृषिको विकास र समृद्धिको लागि एक घर, एक कृषि मोटरसहित निःशुल्क बिजुली सुविधा उपलब्ध गराउने ।
– डिग्री कलेज, मेडिकल कलेजको स्थापना गर्ने ।
– मर्चवार क्षेत्रको दक्षिणी भेगामा सीमा नाकामा पुल निर्माण गरी भारत आउन जाने सहज बनाउन तथा भन्सार नाका व्यवस्थापन गर्ने ।
– मर्चवारलाई डिजिटल, आधुनिक र वैज्ञानिक तरिकाले रिंग रोडहरु निर्माण गरी मर्चवारलाई नमूना क्षेत्र बनाइ पर्यटकीय धार्मिलस्थलहरुलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउन ।
– मर्चवारमा गरीब, सामान्य वर्ग, समुदायको व्यक्ति राजनीतिमा सहभागी गराइ जनताराज कायम गर्ने ।
– मर्चवारमा प्रमुख समस्या सिचाईसम्बन्धी दिगो र सधैका लागि सबै गाउँ–गाउँमा उचित व्यवस्थापन गर्ने ।
– मर्चवारमा विद्यमान स्थानीय तह लगायत सबै निकायका भ्रष्टाचारीहरुलाई कानूनी कठघरामा ल्याउने ।
– बाटो र विद्युतको व्यवस्थापन गर्ने ।
– कृषकका लागि समयमै बीउ मलखादको व्यवस्थापन गर्ने ।
– रोजगार र सीपमूलक तालिमहरु सञ्चालन गराउन र रोजगारको व्यवस्था गर्ने ।
– मर्चवारमा छात्राहरुका लागि छुट्टै कन्या स्कूलको व्यवस्थापनसहितको गुरुकुल विद्यालय निर्माण गर्ने ।
– जनताराजको प्रत्याभुति दिलाउने ।
– प्रत्येक वडामा स्वास्थ्य चौकी र गाउँपालिकास्तरीय अस्पताल बनाउनुको साथै प्रभावकारी सेवाका लागि व्यवस्थापन गर्ने ।
– किसानहरुको उत्पादकत्व वस्तु, तरकारी, धान, गहुँ लगायत सम्पूर्णको उचित मूल्य निर्धारण गराउने ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij