
बुधवार , आश्विन २६, २०७९
भैरहवा, २६ असोज ।
रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ मा ३२ जनाले नेकपा (एमाले)बाट सामूहिक राजीनामा दिएका छन् । एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा रोहिणी गाउँपालिकाका निवर्तमान गाउँपालिका अध्यक्ष सनोज कुमार यादवको नेतृत्वमा ३२ जनाले पार्टीबाट बुधबार राजीनामा दिएका हुन् ।
राजीनामा दिनेमा प्रदेश कमिटी सदस्य शैलेन्द्र उपाध्याय, रोहिणी गाउँपालिका सचिव इन्द्रजीत कुमार राय लगायत रहेका छन् । उनीहरुले रुपन्देही–१ प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा पूर्वमन्त्री घनश्याम भुसाललाई समर्थन गर्ने बताएका छन् । क्षेत्र नम्बर १ मा एमाले, जनता समाजवादी पार्टी, नेपाल (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को गठबन्धन छ ।
घनश्याम भुसाल जस्तो इमान्दार नेतालाई पाखा लगाएको उपाध्यायले आरोप लगाएका छन् ।
स्थानीय निर्वाचनको प्रतिष्पर्धी जसपासँग गठबन्धन भएको भन्दै उनीहरु असन्तुष्ट भएका हुन् । यो क्षेत्रमा प्रतिनिधि सभा सदस्यको लागि एमालेबाट केन्द्रीय सचिव तथा पूर्वमन्त्री छविलाल विश्वकर्मा, प्रदेश सभा सदस्यमा एमालेकै दधिराम न्यौपाने र राप्रपाका आशिष चौधरीले उम्मेदवारी दिएका छन् ।
त्यस्तै एमाले परित्याग गरी प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवारी दिएका भुसालको प्यानलमा नेपाली कांग्रेसका विश्वनाथ यादव र अब्दुल रज्जाक प्रदेश सभाका उम्मेदवार छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij