
बुधवार , आश्विन २६, २०७९
भैरहवा, २६ असोज ।
रुपन्देही क्षेत्र नम्बर ३ (क) प्रदेशसभा सदस्यका उम्मेदवार फैज अहमद खानले उम्मेदवारी फिर्ता लिएका छन् । सत्तागठबन्धनमा प्रदेशसभा सदस्यतर्फको उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) लाई परेपछि उनले उम्मेदवारी दिएका थिए । प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका खानले बुधबार उम्मेदवारी फिर्ता लिएका हुन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको छलफलपछि आफूले उम्मेदवारी फिर्ता लिएको प्रदेशसभा उम्मेदवार फैज अहमद खानले जानकारी दिए । उनीहरूले सत्तारुढ गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन आफूहरूले उम्मेदवारी फिर्ता लिएको बताएका छन् ।
‘रुपन्देही क्षेत्र नम्बर ३ र ३ (क) बाट दिइएको उम्मेदवारी गठबन्धनको मानमर्यादा राखी पार्टीका स्थानीय साथीहरु, गृहमन्त्री बालकृष्ण खाँण र नेकपा माओवादी केन्द्रका पार्टी अध्यक्ष प्रचण्डको सुझाव र निर्देशनमा गठबन्धनलाई सहयोग गर्ने गरी उम्मेदवारी फिर्ता लिएको छु, ’ खानले भने । खान माओवादी केन्द्र सिद्धार्थनगरका इञ्चार्ज समेत हुन् । उनले आफू उम्मेदवार हुँदा भन्दा बढी सत्तारुढ गठबन्धनका उम्मेदवारलाई जिताउन खटिने समेत बताए । त्यस्तै प्रतिनिधिसभातर्फ स्वतन्त्र उम्मेदवारी दिएका उनका छोरा ईमदाद हुसेनले पनि फिर्ता लिएका छन् ।
रुपन्देही प्रतिनिधि सभा क्षेत्र नम्बर ३ मा गठबन्धनबाट गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँण उम्मेदवार हुन् । रुपन्देही क्षेत्र नम्बर ३ प्रदेशसभा (क) मा लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) का सन्तोष कुमार पाण्डेय र रुपन्देही क्षेत्र नम्बर ३ प्रदेशसभा (ख) मा नेपाली कांग्रेसका रामचन्द्र ढकाल उम्मेदवार हुन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij