
बुधवार , आश्विन २६, २०७९
भैरहवा, २६ असोज ।
सत्ता गठबन्धनमा आबद्ध दलहरुले रुपन्देही क्षेत्र नम्बर २ का निर्वाचन अधिकृतलाई परिवर्तन गरी उनको ठाउँमा अन्य अधिकृत खटाउन माग गरेका छन् । क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत उदवीर नेपालीका कतिपय निर्णय राजनीतिक पूर्वाग्रही रहेको पाइएको भन्दै गठबन्धनमा आबद्ध दलहरुले नेपालीलाई हटाउन माग गरेका हुन् ।
बुधबार रुपन्देहीका मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालामार्फत् निर्वाचन आयोगलाई ज्ञापनपत्र बुझाउँदै सत्ता गठबन्धनमा आबद्ध दलहरु नेपाली काँग्रेका क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति पर्शुराम ढकाल, नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य गोविन्द केसी, नेकपा (एकीकृत समाजवादी) का नेता चीनबहादुर गुरुङ, जनमोर्चा नेपालका पदम श्रेष्ठ र नेपाल समाजवादी पार्टीका केन्द्रिय सदस्य हरि घर्तीमगरले नेपालीलाई तत्काल हटाउन माग गरेका हुन् ।
उनीहरुले अदालतमा मुद्दा विचाराधीन रहेको पत्र अदालतले निर्वाचन आयोगलाई पठाउँदा समेत त्यसको बेवास्ता गरी क्षेत्र नम्बर २ का उम्मेदवार राजु गुरुङको उम्मेदवारी रद्ध गरिएको जनाएका छन् । यस्तै, दलहरुले हाम्रो नेपाली पार्टीका उम्मेदवार कमल भुसाल (निकोलस) ले पुरस्कार पाए वापत भनेर उम्मेदवारी रद्ध गरिएकाले त्यो पनि गैरकानूनी भएको जनाएका छन् ।
दलहरुले बुझाएको ज्ञापनपत्रमा वृद्धाभत्ता, एकल महिला भत्ता, पेन्सन नपाउने र बेरोजगारले मात्र चुनाव लड्ने हो र ? मुद्दाले दोषी ठहर नगरी अदालतको मानहानी गर्ने, जनताको मौलिक अधिकारप्रति अंकुश लगाउने काम गर्न निर्वाचन आयोगलाई मिल्छ र ? भन्ने प्रश्न समेत गरेका छन् ।
ज्ञापनपत्रमा भनिएको छ, ‘उहाँको निष्पक्षतामा विश्वास गर्न सकिँदैन, त्यसैले नेपालीलाई हटाई उहाँको स्थानमा अरु पठाउने र क्षेत्र नम्बर २ को निर्णय सच्याउन निवेदन गर्दछौं ।’
ज्ञापनपत्र बुझ्दै रुपन्देहीका मुख्य निर्वाचन अधिकृत कोइरालाले दलहरुले बुझाएको ज्ञापनपत्र निर्वाचन आयोगमा पठाउने र समस्या समाधानमा आफ्नातर्फबाट सहजीकरण हुने जनाए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij