
बिहिवार , आश्विन २७, २०७९
बुटवल, २७ असोज ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा) परित्याग गरी नेकपा (एमाले)मा प्रवेश गरेका युवा नेता अशोक वर्मालाई एमालेले लुम्बिनी प्रदेश कमिटी सदस्यमा मनोनयन गरेको छ । बिहीबार एमाले लुम्बिनी प्रदेश कार्यालयमा पार्टी उपाध्यक्ष एवं पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल र एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले वर्मालाई मनोनयन पत्र प्रदान गर्दै राजनीतिक यात्राको सफलताको शुभकामना दिएका छन् ।
डेढ दशकअघिदेखि राजनीतिमा क्रियाशील वर्मा तत्कालीन मधेशी जनअधिकार फोरम हुँदै संघीय समाजवादी फोरमका रुपन्देही सचिव थिए । तर पछि उनले जसपा पार्टी परित्याग गरेका थिए । केही समयअघि एमाले उपाध्यक्ष विष्णु पौडेलको पहलमा एमाले प्रवेश गरेका उनी २०७० को संविधानसभा चुनावमा रुपन्देही–२ मा पौडेलसँगै प्रतिस्पर्धा गरेका थिए । २०७४ को चुनावमा भने उनी रुपन्देही ३ (२) मा प्रदेश सभा सदस्य पदमा उम्मेदवार भइ करिब ५ हजार मत पाएर पराजित भएका थिए ।
‘मधेशवादी पार्टीहरुले मधेशको नारा मात्रै दिने तर जनताको पक्षमा नभइ सीमित नेताको स्वार्थपूर्ति गर्ने काम मात्र गरेको अनुभूति भएपछि एमालेमा प्रवेश गरेको हुँ’–वर्माले भने–‘ यहाँ आएपछि थाहा भयो मधेशविरोधी भनि प्रचार गरिएको एमाले नै वास्तवमा मधेशको विकासमा सबैभन्दा धेरै काम गर्ने पार्टी रहेछ ।’ प्रदेश कमिटीमा मनोनित भएपछि वर्माले पार्टी नेतृत्वप्रति धन्यवाद ज्ञापन गर्दै आसन्न निर्वाचनमा पार्टी र एमाले नेतृत्वको गठबन्धन उम्मेदवारलाई जिताउन क्रियाशील हुने बताए । वर्मा युनिक मेटल उद्योगका सञ्चालक समेत हुन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij