
शुक्रवार , आश्विन २८, २०७९
भैरहवा, २८ असोज ।
गृहमन्त्री बालकृष्ण खाँणले नेपाली बाबुुआमाबाट जन्मिएका सन्तानलाई नागरिकता दिन विधेयक ल्याइएको बताएका छन् । उनले बाहिर हल्ला भए जस्तो विदेशी र अंगीकृतलाई नागरिकता दिनका लागि विधेयक नल्याएको उल्लेख गर्दै यसलाई गलत प्रचारप्रसार गरी अनावश्यक राजनीतिकरण गर्न खोजिएको जिकिर गरेका हुन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ३ प्रतिनिधि सभामा गठबन्धनका उम्मेदवार समेत रहेका मन्त्री खाँणले शुक्रबार भैरहवामा वडास्तरका प्रचारप्रसार कार्यालयहरु उद्घाटन गर्दै विधेयकले मुलुकलाई फिजी, सिक्किमीकरण गर्छ भन्ने जस्ता अफवाह फैलाउनु राष्ट्रियता कमजोर पार्नुबाहेक अरु उद्देश्य नरहेको समेत बताए ।
‘नेपालको संविधानको धारा ११ को उपधार ३ मा संविधान जारी हुँदाका बखत नागरिकता पाएका बाबुुआमाका छोराछोरीले बंशजको नागरिकता पाउने उल्लेख छ । तर, विधेयकमा त्यो व्यवस्था नभएकाले सबै दलको सहमतिमै बिधेयक ल्याइएको हो’, उनले भने, ‘संविधानमै व्यवस्था गरेको कुरा लागू गर्दा कसरी राष्ट्रघात हुन्छ ? त्यसैले नागरिकताबिहीन नेपालीमाथि कसैले खेलवाड नगरौं ।’
संविधान जारी हुँदा बखत नागरिकता पाएकाका आमाबुवाका ५ लाख भन्दा बढी छोराछोरी अहिले नागरिकताबिहीन रहेको जानकारी गराउँदै उनले ती नागरिकले नागरिकता नपाउँदाको पीडा माथि खेलवाड गर्दै राज्य संवेदनहीन हुुन नमिल्ने बताए । ‘संवैधानिक अधिकार अनुसार वर्तमान सरकार र गठबन्धन नेपालमै जन्मिएका, नेपालमै हुुर्किएका नागरिकलाई अनागरिक बनाउने पक्षमा छैन’, उनले भने, ‘नेपालमा बस्ने, नेपालमै जन्मिएका नागरिकले नागरिकता पाउनैपर्छ । बिदेशीलाई दिने होइन ।’
नेपालमा जन्मिएका नागरिकलाई अनागरिक बनाउने जो कसैको प्रयास सफल हुन नसक्ने र गतल प्रचारकाविरुद्ध सबै सचेत हुन पनि उनको आग्रह थियो । उनले मानव अधिकारको विश्वव्यापी मान्यताअनुसार पनि आफ्ना नागरिकलाई नागरिकता दिनुु सरकारको दायित्व भएको बताए । नागरिकताबिहीन लाखौं युवाहरु संगठित हुन थालेको र त्यसलाई दबाउन खोजे फेरी विद्रोह हुन सक्नेतर्फ पनि सचेत रहन आग्रह गर्दै उनले विदेशीलाई नागरिकता दिन बिधेयक नल्याएकाले स्पष्ट पारे ।
नेपालमा जन्मिएका नागरिकलाई अनागरिक बनाउन खोज्नेहरुलाई जनताले चिनिसकेकाले आगामी निर्वाचनमा त्यस्ता शक्ति दण्डित हुने पनि उनको विश्वास रहेको छ । अघिल्लो सरकारले नागरिकलाई मौलिक र आधारभूत अधिकारबाट वञ्चित गराउँदै लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार गर्न थालेपछि त्यसका रक्षाका लागि वर्तमान गठबन्धन निर्माण भएको समेत उनले बताए ।
स्वर्गीय गिरीजाप्रसाद कोइराला र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्डले १२ बुँदे सम्झौता गरी अगाडि बढाएको शान्ति प्रक्रियालाई स्थायीत्व दिँदै मुलुुकलाई शान्ति र विकासको दिशामा अगाडि बढाउन पनि गठबन्धन आवश्यक रहेको उनले बताए । उनले आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण रुपमा सफल पार्दै गठबन्धनलाई पनि स्थापित गर्ने दायित्व रहेकाले गठबन्धनमा आबद्ध सबै दलका नेता तथा कार्यकर्ताहरु एकढिक्का भएर आफ्ना उम्मेदवार विजयी बनाउन लाग्नुुपर्नेमा जोड दिए ।
नेता खाँणले वर्तमान गठबन्धन संविधान, लोकतन्त्रको रक्षाको लागि भएको र निर्वाचन पछि पनि कायम रहिरहने बताए । उनले गठबन्धन एकढिक्का भए निर्वाचनमा सहज जीत निकाल्ने बताउँदै त्यसका लागि एकढिक्का हुन सबैलाई आग्रह गरे ।
रुपन्देही क्षेत्र नम्बर ३ (क) बाट प्रदेशसभा सदस्यका उम्मेदवार सन्तोष कुमार पाण्डेयले मुलुकका लागि अहिलेको गठबन्धन आवश्यक भएको बताए । उनले आफू सधै जनताको साथमा रहेको बताउँदै गठबन्धनका उम्मेदवारलाई मतदान गरेर जिताउन आग्रह गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij