
शनिवार , आश्विन २९, २०७९
बुुटवल, २९ असोज ।
सत्तारुढ पाँचदलीय गठबन्धनले आसन्न प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी कार्तिक ४ गते बुटवलमा प्रदेशस्तरीय प्रशिक्षण गर्ने भएको छ । गठबन्धनको शनिबार बसेको बैठकले केन्द्रीय संयन्त्रले तोकेबमोजिम ४ गते बुुटवलमा प्रशिक्षण कार्यक्रम गर्ने भएको हो ।
प्रशिक्षणमा नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायतले सम्बोधन गर्नेछन् ।
नेपाली काँग्रेसका सभापति रामकृष्ण खाँणको अध्यक्षतामा बसेको गठबन्धनको बैठकले प्रशिक्षणलाई भव्य रुपमा सम्पन्न गर्ने गरी व्यवस्थापन समिति समेत गठन गरेको छ । निर्वाचन केन्द्रीत प्रशिक्षणमा प्रत्येक पार्टीका केन्द्रीय, प्रदेश र जिल्ला कमिटीका पदाधिकारीहरुको सहभागिता रहने नेकपा (एकीकृत समाजवादी) का रुपन्देही अध्यक्ष अविराम विश्वकर्माले बताए ।
प्रशिक्षणमा ५ सय बढीको सहभागिता रहने जनाइएको छ । गठबन्धनको बैठकले गठबन्धनका दलहरुको सहभागीतामा निर्वाचन परिचालन समिति गठन गरिएको काँग्रेस सभापति रामकृष्ण खाँणले जानकारी दिए । प्रशिक्षण कार्यक्रमको व्यवस्थापन नेपाली काँग्रेसले गर्नेछ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij