
आइतवार , आश्विन ३०, २०७९
बुटवल, ३० असोज ।
रुपन्देही क्षेत्र नम्बर २ का सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेसँगै नेकपा (एमाले) ले कसैको उम्मेदवारी खारेज होस् भन्ने चाहना नभएको बरु कायम होस् भन्ने पार्टीको धारणा रहेको प्रतिक्रिया दिएको छ ।
सर्वोच्चको आदेशपछि रुपन्देही–२ का एमाले निर्वाचन परिचालन कमिटी संयोजक एवं केन्द्रीय अनुशासन आयोगका सदस्य नेत्र प्रसाद पन्थीले अदालती प्रक्रियाबारे पार्टीको चासो नरहेपनि गुरुङ वा अरु कसैको उम्मेदवारी खारेजको निर्णय कार्यान्वयन नगर्न आएको आदेशले पार्टीलाई कुनै फरक नपर्ने बताए । ‘सामाजिक सञ्जालहरुमा पार्टीलाई जोडेर आएका टिकाटिप्पणीप्रति पार्टीको ध्यान गएको छ’–पन्थीले भने–‘हामी कसैको उम्मेदवारी खारेज होस् भन्ने चाहेका छैनौं, जोसुकै मैदानमा आएपनि प्रतिष्पर्धा गरेर जीतका लागि एमाले तयार छं ।’
सर्वोच्चको आदेशसँग जोडेर नेकपा एमाले गठबन्धनसंग प्रतिष्पर्धा गर्न डराएको भन्ने टिकाटिप्पणी गलत भएको भएको र एमाले स्वच्छ प्रतिष्पर्धाका लागि सधैं तयार रहेको पन्थीको भनाइ छ ।
आइतबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिँदै अन्तरिम आदेशका लागि दुवै पक्षलाई २ कात्तिकमा छलफलमा बोलाएको छ । त्यस्तै सर्वोच्चले निर्वाचन आयोगलगायतका विपक्षीसँग गुरुङको उम्मेदवारी खारेज गर्नुको कारण समेत माग गरेको छ । बैंकिङ कसूर मुद्दामा कालोसूचीमा रहेको भन्दै निर्वाचन अधिकृत उदवीर नेपालीले २६ असोजमा गुरुङको उम्मेदवारी खारेजीको निर्णय गरेका थिए । गुरुङले निर्वाचन अधिकृतलाई उम्मेदवारी खारेज गर्ने अधिकार नभएको भन्दै आफ्नो उम्मेदवारी खारेजीको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दिएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij