२०८२, श्रावण २३ गते

Aug 08 2025 | २०८२, श्रावण २३ गते

रूपन्देहीको शुद्धोधनमा एमाले, राप्रपा र जसपाको संयुक्त प्रचार कार्यालय

मंगलवार , कार्तिक १, २०७९

भैरहवा, १ कात्तिक । 
रूपन्देहीको शुद्धोधन गाउँपालिका वडा नम्बर ४ स्थित फर्साटिकरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी, नेपाल (जसपा)को संयुक्त प्रचार प्रसार कार्यालय स्थापना भएको छ । सोमबार कार्यालयको उद्घाटन गर्दै राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहराले आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभामा हलो र प्रदेशसभाको निर्वाचनमा  सुर्य र छातामा मतदान गरेर आफ्नो मतको सदुपयोग गर्न आग्रह गरे । उनले रुपन्देही क्षेत्र नम्बर ३ को विकासका लागि निर्वाचित भइसकेपछि सबैभन्दा पहिले अल्पकालिन र दीर्घकालिन योजना बनाएर काम गर्ने बताए ।

राप्रपाका केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष तथा पूर्व गृहमन्त्री निरञ्जन थापाले निर्वाचनमा न्यायधिस भनेको जनताको भएको बताउँदै एमाले, राप्रपा र जसपाको गठबन्धनको के आधारले गठबन्धन भएको हो जनताले बुझेमा मत हाल्न सहज हुने बताए । एमालेका अध्यक्ष केपी ओली सरकारमा हुँदा राप्रपा र एमाले मिलेर भारतको नाकाबन्दीको समयमा नाकाबन्दी हटाउने काम गरी महत्वपूर्ण भूमिका खेलेको बताए । राष्ट्रियताको अडानमा जसपाका उपेन्द्र यादव पनि राष्ट्रियताका लागि आवश्यक भएको उनले बताए । 

कार्यक्रममा क्षेत्र नम्बर ३ (ख) मा प्रदेश सभा सदस्यका उम्मेदवार तुल्सी प्रसाद चौधरीले तीन वटा पार्टीको गठबन्धन प्राकृतिक रहेको बताउंदै निर्वाचनमा एमाले, राप्रपा र जसपाको जीत सुनिश्चित रहेको बताए ।

रुपन्देही क्षेत्र नम्बर ३ (क) मा प्रदेश सभा सदस्यका उम्मेदवार महेन्द्र यादवले कसैको प्रलोभनमा नपरी राष्ट्रका पक्षमा काम गर्ने उम्मेदवारलाई जिताउन आग्रह गरे । 

एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य रामप्रसाद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य स्वाती थापा, एमाले रुपन्देही क्षेत्र नम्बर ३ का संयोजक नर बहादुर घर्ती, पार्टीका रुपन्देही जिल्ला सदस्य माधव काफ्ले लगायतले बोल्दै एमाले, राप्रपा र जसपाका उम्मेदवारलाई जिताउन आग्रह गरेका थिए ।