२०८२, श्रावण २३ गते

Aug 08 2025 | २०८२, श्रावण २३ गते

पार्टीको भोटका लागि तक्मा बाड्दैनौ : निरञ्जन थापा

मंगलवार , कार्तिक १, २०७९

भैरहवा, १ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय सल्लाहकार समितिका संयोजक तथा पूर्व गृहमन्त्री निरञ्जन थापाले पार्टीको भोटका लागि तक्मा नबाड्ने स्पष्ट पारेका छन् । उनले आफूहरु सरकारमा गएपछि अहिले जस्तो तक्मा नबाड्ने बताए ।

नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी, नेपाल (जसपा) रुपन्देही क्षेत्र नम्बर ३ को मंगलबार भैरहवामा भएको संयुक्त चुनाव प्रचार प्रसार कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै थापाले अहिले तक्माको बाढी नै आएको बताए । उनले भने, ‘अहिले रुपन्देही क्षेत्र नम्बर ३ मा तक्माको बाढी आएको छ, ‘गृहमन्त्री हुँदा अहिलेको जस्तो गरी तक्मा बाडेका थिएनौं, सरकारमा गएपछि उद्योग सञ्चालन गर्ने उद्योगी, चोरी निकासी नियन्त्रण गर्ने प्रहरीलाई तक्मा दिन्छौं । पार्टीलाई भोट दिने शर्तमा तक्मा बाड्दैनौं ।’

उनले राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहराले विकास निर्माणका काम गर्नुभएको बताए । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा नेता बोहराको योगदान रहेको चर्चा गरे । उनले भने, ‘विकासप्रेमी नेता बोहरालाई निर्वाचन जिताउनुपर्छ । पाँचदलीय गठबन्धनलाई भोट दिनु भनेको भोट खेर फाल्नु हो । ’ राष्ट्रियता बचाउन एमाले, राप्रपा र जसपालाई जिताउनुपर्ने उनको भनाइ थियो । 

त्यस्तै रुपन्देही क्षेत्र नम्बर ३ (ख)मा प्रदेशसभा सदस्यका उम्मेदवार तुल्सी प्रसाद चौधरीले स्थानीय तह निर्वाचनको नतिजाले कांग्रेसको गठबन्धन एमाले भन्दा १२ हजार मतले पछाडि रहेको बताए । उनले भने, ‘हामी झुटो आश्वासन बाड्दैनौं । ’

रुपन्देही क्षेत्र नम्बर ३ (क) मा उम्मेदवार महेन्द्र यादवले एमाले, राप्रपा र जसपाको जीत सुनिश्चित रहेको दावी गरे । उनले विगतमा गरिएको संघर्षले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताए ।

कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य स्वाती थापा, जसपा केन्द्रीय सदस्य मात्रिका प्रसाद यादव, एमाले रुपन्देही क्षेत्र नम्बर ३ का संयोजक नर बहादुर घर्ती लगायतले बोल्दै मुलुकको विकासका लागि तीनदलीय गठबन्धनलाई विजयी बनाउन आग्रह गरे ।