२०८२, श्रावण २३ गते

Aug 08 2025 | २०८२, श्रावण २३ गते

बैंकको ब्याजदर घटाउन माग गर्दै उद्योगी व्यवसायी सडकमा, सरकारलाई बुझाए ज्ञापनपत्र  

शुक्रवार , कार्तिक ४, २०७९

रुपन्देही, ४ कात्तिक । बैंकको ब्याजदर घटाउन माग गर्दै रुपन्देहीका उद्योगी व्यवसायी सडकमा  उत्रिएका छन् । सरकारको नीतिका कारण उद्योग व्यवसाय धराशयी हुने अबस्थामा पुगेको भन्दै उद्योगी व्यवसायि सडकमा उत्रिएका हुन् ।

बैंकहरूले दोहोरो अंकमा कर्जाको ब्याजदर मनोमानी ढंगले वृद्धि गरेको तथा व्यवसायीलाई धरपकड समेत गरिरहेको भन्दै सडक आन्दोलनमा उत्रिनु परेको उद्योगी तथा व्यवसायिहरुले जनाएका छन् । 
रुपन्देहीमा क्रियाशील ५० वटा व्यावसायिक संघसंस्थाहरूको सम्युक्त सञ्जाल रुपन्देहीले नेपाल राष्ट्र बैँक र जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा ज्ञापनपत्र बुझाउँदै बैंक तथा वित्तीय संस्थाको ज्यादतीबिरुद्ध संयुक्त विरोध प्रदर्शन गरेका छन् ।

भैरहवाको बुद्ध चोक, नारायण स्थान, आवारोड, बैंक रोडमा प्रदर्शन गर्दै उद्योगी ब्यापारीहरूले राष्ट्र बैँकको कर्जा नीति खारेज गर, ब्यावसायिक एकता जिन्दावाद, बैँकको ज्यादती बन्द गर, निजी क्षेत्र प्रभावित हुने निर्देशिका लाद्न पाइँदैन, एकल बिन्दुमा ब्याजदर कायम गर्नुपर्ने लगायतका नाराबाजी गरेका छन् ।

samyukta birodh.jpg

संयुक्त संघर्ष समितिका संयोजक तथा रुपन्देही उद्योग संघका अध्यक्ष माधवप्रसाद पौडेलले पुँजी विस्तार गरी उद्योग ब्यवसायलाई बचाइराख्न कोसिसरत उद्योगी ब्यवसायीहरू हालै नेपाल राष्ट्र बैँकद्वारा लागू गरिएको चालू पुँजी कर्जा निर्देशिका २०७९ को प्रभावले उद्योगधन्दा बन्द हुने अबस्थामा पुगेको भन्दै आन्दोलित बन्नु परेको बताए ।

आन्दोलनमा नेपाल उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्मा, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्जवल कसजु, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भिष्मप्रसाद न्यौपाने, उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष अनीलकुमार ज्ञवाली लगाएतका सयौ उद्योगी व्यवसायिहरुले राष्ट्र बैक र जिल्ला प्रशाशन कार्यालय रुपन्देही मार्फत सरकार समक्ष ज्ञापन पत्र बुझाएका हुन् ।

सरकार बैकले बढाएको व्याजदर घटाउने तर्फ अगाडि नबढे देशभरका उद्योगी व्यवसायिहरु उद्योग व्यवसाय बन्द गरेर चरणबद्ध आन्दोलनमा उत्रिने बताएका छन् ।