
शनिवार , कार्तिक ५, २०७९
लमजुङ, ५ कात्तिक ।
एमाले उपमहासचिव एवं गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा आफ्नो भाग्य कसको हातमा सुम्पने भन्ने कुरा जनताकै हातमा रहेको बताएका छन् ।
एमाले बेंसीसहर नगरपालिका कमिटीले शुक्रबार आयोजना गरेको उम्मेदवार परिचय एवं बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै जिल्लाको विकास र जनताको हितका निम्ति गठबन्धनका उमेद्वारलाई जिताउने कि एमालेका उमेद्वारलाई जिताउने भनी सोचविचार गरेर मात्र लमजुङे जनताले मतदान गर्नुपर्ने बताए ।
एमालेले लिएको समृद्ध नेपाल र सुखी नेपालीको नारालाई पूरा गर्न सूर्यमा मतदान गर्न उनले आग्रह गरे । लोकतन्त्रको मूलभूत सिद्धान्तलाई एमालेले सदैव पालना गर्दै आएको उनकाे भनाइ थियाे ।
गठबन्धन सरकारले देशको विकासका निम्ति कुनै उल्लेखनीय काम गर्न नसकेको र एमाले सरकारमा हुँदा ल्याएको विकास र नीतिलाई समेत उल्लंघन गरेको भन्दै कांग्रेस र माओवादी पार्टीमा कुनै भविष्य नभएको उनले आराेप लगाए । भविष्य नभएको पार्टीमा लागेर कुनै काम नहुने उनले बताए ।
आफू गण्डकी प्रदेशको मुख्यमन्त्री हुँदा गण्डकी प्रदेश उज्यालो अभियान, एक घर एक धारा, सडकको अभियानलाई अघि बढाएर विकासलाई तीव्र पारे पनि गठबन्धनको सरकारले सवै अभियानलाई ध्वस्त पारेकाले विकासका कार्य अधूरा रहेको उनकाे दाबी थियाे ।
लमजुङमा सत्तागठबन्धनबाट माओवादी महासचिव देव गुरुङ प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् । न्युज कारखाना
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij