
सोमवार , कार्तिक ७, २०७९
बुटवल, ७ कात्तिक ।
नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिले देशव्यापी रुपमा एमाले रोज्नेहरुको लहर चलेको बताएका छन् । देशका मुख्य शक्ति मानिएका ५/७ वटा दलहरुले एमालेविरुद्ध मोर्चाबन्दी गरिरहेको समयमा एमालेप्रति प्रवेश गर्नेको जनलहरले सबैलाई उत्साह थपेको उनको भनाइ थियो ।
आइतबार रुपन्देहीको तिलोत्तमास्थित पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता पौडेलले सबै शक्तिहरु मिलेको समयमा एमाले आउनेको जनलहरले नै यसको लोकप्रियताबारे प्रष्ट पारेको बताए । ‘यो आमनागरिकको हितमा बोल्ने, लड्ने पार्टी हो भन्ने यो जनलहरले प्रमाणित गरेको छ, सबै शक्ति एकातिर मोर्चा बनाउँदा पनि आम नागरिकले हामीलाई साथ दिनुभएको छ, पार्टीमा आउने सबैलाई उपयुक्त जिम्मेवारी दिइनेछ, सम्मानजनक जिम्मेवारी दिइने छ ।’ नेता पौडेलले भने ।
रुपन्देही क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाको उम्मेदार रहेका नेता पौडेलले एमाले सरकारमा रहँदा सुकुम्वासी समस्या समाधानको लागि गरिएको अन्तिम तयारी, विकासका प्रभावकारी योजन, राष्ट्रहितका लागि गरिएको अडान सबै नेपालीको सामु छर्लङ्ग भएको बताए ।
निर्वाचनका बेला अन्य पार्टीले एमालेले सुरु गरेका कामहरुलाई आफूले गरेको भन्दै प्रचार गरेको र एमालेविरुद्ध अनेक भ्रामक कुराहरु प्रचारमा ल्याएकाले सबै सचेत कार्यकर्ताले सबैलाई सचेत बनाउनुपर्ने उनले बताएका थिए ।
एमाले पोलिटब्युरो सदस्य तथा प्रदेश सभाका उम्मेदवार लिला गिरीले एमाले नेतृत्वमा यसअघि तीनै तहका सरकारले गरेका असल अभ्यासहरुलाई गठबन्धन सरकारले अलपत्र पारेको बताए । उनले जनतालाई ध्यान दिइएर सुरु गरेका महत्वपूर्ण योजनाहरु गठबन्धनका स्वार्थका कारण रोक्न खोजिएको र ती योजना पूरा गर्न एमालेलाई बहुमत आवश्यक रहेको धारणा राखेका थिए ।
सो कार्यक्रममा नेपाली कांग्रेस तथा नेकपा (माओवादी केन्द्र) छाडेका ५६ जना एमालेमा प्रवेश गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij