२०८२, श्रावण २३ गते

Aug 08 2025 | २०८२, श्रावण २३ गते

रुपन्देही–२ मा नेमकिपाको निर्वाचन प्रचारप्रसार कार्यालय स्थापना 

सोमवार , कार्तिक ७, २०७९

बुटवल, ७ कात्तिक । 
आगामी मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरी निर्वाचन परिचालन र प्रचारप्रसार गर्ने उद्देश्यले नेपाल मजदुर किसान पार्टीले रुपन्देही क्षेत्र नम्बर २ मा कार्यालय स्थापना गरेको छ । बुटवल–१२ स्थित तामनगरमा स्थापना गरिएको सो कार्यालयबाट निर्वाचन लक्षित प्रचारप्रसार र परिचालन गरिने नेपाल मजदुर किसान पार्टी रुपन्देहीका अध्यक्ष तथा रुपन्देही क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार हरिसुन्दर वासीले बताए । 

सो अवसरमा बोल्दै प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरिसुन्दर वासीले आम निर्वाचन पनि वर्गीय र राजनीतिक आन्दोलनको सिलसिला भएको बताए । मजदुर किसानको नेतृत्वमा देशभक्त प्रगतिशील बुद्धिजीवी तथा राष्ट्रिय पुँजीपति वर्ग सहभागी सरकार हुने तथा जनताको प्रजातन्त्रको लागि नेमकिपाले संघर्ष गरिरहेको उल्लेख गर्दै वासीले देशको सार्वभौमसत्ता र स्वाधिनता जोगाउन मादल चिन्हमा मतदान गर्न आग्रह समेत गरेका छन् । अध्यक्ष वासीले शासक दलहरुप्रति जनताको असन्तुष्टि र आक्रोश अनि इमानदार नेमकिपाका जनप्रतिनिधिहरुप्रतिको विश्वास र भरोसाको आधारमा नेमकिपाका उम्मेदवारहरु जित्ने सम्भावना बढेको जिकिर गरे । 

नेमकिपा रुपन्देहीका सचिव तथा रुपन्देही क्षेत्र नम्बर ५ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हिमलाल पाण्डेले निर्वाचनलाई वैचारिक लडाईंको रुपमा नै अगाडि बढाउनुपर्ने कुरामा जोड दिएका थिए । 

नेमकिपा रुपन्देहीका सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सरु विकले महिलाहरुको श्रमशक्ति बढाउन प्रत्येक वडा र टोलहरुमा शिशु स्याहार केन्द्र स्थापना गर्नुपर्नेमा जोड दिए ।