
शुक्रवार , मंसिर २६, २०७७
भैरहवा, २६ मंसिर ।
गोरखापत्र दैनिकका नायव कार्यकारी सम्पादक केदार भट्टराई (वाशिष्ठ) को कृति ‘नेपाल विद्या’ लुम्बिनी बौद्ध विश्वविद्यालयले पाठ्यक्रममा राख्ने गरी छलफल गर्ने भएको छ । बुद्ध, लुम्बिनी र कपिलवस्तुमाथि भएको अन्तर्राष्ट्रिय राजनीति समेतका बारेमा तयार पारिएको नेपाल विद्यालाई पाठ्यक्रममा राख्नेबारे छलफल गरिने विश्वविद्यालयका उपकुलपति प्रा.डा. हृदयरत्न बज्राचार्यले बताए । लुम्बिनीमा अनुसन्धानकर्तासंगको छलफलमा उपकुलपति बज्राचार्यले बुद्ध, लुम्बिनी र कपिलवस्तुको अध्ययनका लागि कृति उपयोगी हुन सक्ने विश्वास व्यक्त गरे ।
‘कुनै पनि विषयलाई पाठ्यक्रममा राख्नका लागि पहिले विषय विज्ञबाट छलफल गराई विद्या परिषदको सिफारिसमा प्राज्ञिक परिषदले पाठ्क्रम निर्धारण गर्छ, त्यो प्रक्रियामा नेपाल विद्यालाई छलफलका लागि अगाडि बढाइनेछ’– उनले भने ।
छलफलमा सहभागी वरिष्ठ पुरातत्वविद वसन्त बिडारीले प्रकाशित कृतिलाई तत्काल अंग्रेजीमा अनुवाद गरेर विश्वापी बनाउनुपर्ने सुझाव दिंदै यसका लागि आफूले पनि सक्दो सहयोग गर्ने बताए ।
पुस्तकका अनुसन्धानकर्ताले सबै विश्वविद्यालयलाई पाठ्यक्रममा राख्नका लागि आग्रह गर्ने योजना अनुरुप लुम्बिनी बौद्ध विश्वविद्यालयबाट यसको सुरुवात गरिएको अनुसन्धानकर्ता वाशिष्ठले बताए । कृतिका बारेमा बुटवलमा पनि विभिन्न व्यक्तिहरुसंग छलफल गरिएको छ । अनुसन्धानकर्ता वाशिष्ठले नेपाल विद्या आफूले ६ वर्ष लगाएर प्रकाशित गरेको र यसमा गौतमबुद्ध, लुम्बिनी र कपिलवस्तुमा भएको अन्तर्राष्ट्रिय राजनीतिका बारेमा व्याख्या र विश्लेषण गरिएको बताए ।
छलफलमा सहभागी साहित्यकार रामचन्द्र श्रेष्ठले प्रकाशित कृतिले लुम्बिनी र कपिलवस्तुको बारेमा छरिएको भ्रम चिर्ने विश्वास व्यक्त गरे । छलफलमा पुस्तक व्यवसायी माधव गौतम, शिक्षक माधव पौडेल लगायतले पनि प्रकाशित कृतिका बारेमा चर्चा गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij