२०८२, श्रावण २३ गते

Aug 08 2025 | २०८२, श्रावण २३ गते

निरञ्जन थापाको प्रश्न : कांग्रेसले मन पराएर दीपक बोहराका लागि भोट मागेको होइन ?

शनिवार , कार्तिक १२, २०७९

भैरहवा, १२ कात्तिक ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय सल्लाहकार समितिका संयोजक तथा पूर्व गृहमन्त्री निरञ्जन थापाले २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसले मन पराएर दीपक बोहराका लागि भोट मागेको होइन भन्दै प्रश्न गरेका छन् । उनले आफ्नो पार्टीको उम्मेदवार भएका कारणले दीपक बोहरालाई भोट हाल्नु हुँदैन भन्नेबाहेक कांग्रेसले भन्नलाई अन्य कारण नरहेको दावी गरे ।

नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी, नेपाल (जसपा) सिद्धार्थनगर–९ को संयुक्त सम्पर्क कार्यालयको शनिबार उद्घाटन कार्यक्रममा बोल्दै थापाले भने, ‘हिजो दीपक बोहराका लागि भोट मागेको कांग्रेसले आज भोट दिनुहुँदैन भन्ने कारण दिनुपर्यो, बोहराजीलाई भोट किन नदिने भन्ने ठाउँ नै छैन, हिजोका दिनमा उहाँलाई कांग्रेसले नै समर्थन गरेको थियो ।’

विकासप्रेमी नेता दीपक बोहरा जनताको मनमा बस्न सफल नेता भएको उनले दावी गरे । राप्रपा, एमाले र जसपा राष्ट्रवादी शक्ति भएको उनको भनाइ छ । बैंक ब्याजदर बढेको भन्दै सडकमा उत्रिन बाध्य उद्योगी व्यवसायीले पाँचदलीय गठबन्धनले मत दिनुहुँदैन भन्ने कुरा बुझेको थापाले बताए । उनले भने, ‘सरकारको गलत नीतिका कारण रुपन्देहीका पाँचवटा स्टिल उद्योग बन्द भएका छन्, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एअरलायन्सले उडान कटौती गरेको छ, अझ सतारुढ दलका उम्मेदवारले विमानस्थलमा रोजगारी दिन्छौं भन्दै हिड्नुभएको छ । ’ केपी ओलीलाई राप्रपाको पूर्ण समर्थन रहेको उनले बताए । निर्वाचन आयोगले बारम्बार सतारुढ दलका नेताहरुलाई स्पष्टीकरण सोधिरहेकोले सरकारले निष्पक्ष निर्वाचन गराउँछु भन्ने कुरामा शंका उत्पन्न भएको नेता थापाको भनाइ छ ।

DSC_5317.JPG

रुपन्देही क्षेत्र नम्बर ३ (क)बाट प्रदेशसभा सदस्यका उम्मेदवार तथा जसपाका केन्द्रीय सदस्य महेन्द्र यादवले भैरहवाको विकासमा विकासप्रेमी नेता तथा पूर्वमन्त्री दीपक बोहराको महत्वपूर्ण योगदान रहेको बताए । 

नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटी सदस्य डासुराम पाण्डेले मुलुक यतिबेला गम्भिर परिस्थितिकाबीच अगाडि बढेको बताए । उनले एमाले, राप्रपा र जसपाका उम्मेदवारलाई अत्याधिक मतका साथ जिताउनुपर्नेमा जोड दिए । पाँचदलीय गठबन्धन सरकारले मुलुकमा भ्रष्टाचार र महंगी बढाएको उनको भनाइ छ । उनले भने, ‘जसरी हुन्छ निर्वाचन जित्ने सत्तारुढ दलको रणनीति छ, केपी ओली नेतृत्वमा सरकार नबने मुलुकको विकास हुन सक्दैन ।’ 

एमाले सिद्धार्थनगर–९ का अध्यक्ष लक्ष्मण ज्ञवालीको अध्यक्षता, जसपा रुपन्देही क्षेत्र नम्बर ३ का अध्यक्ष जावेद आलमको स्वागत तथा राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन रुपन्देहीका अध्यक्ष शंकर खत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी, नेपाल (जसपा) सिद्धार्थनगर–९ को संयुक्त सम्पर्क कार्यालयको राप्रपाका वरिष्ठ नेता, पूर्वमन्त्री तथा रुपन्देही क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्यका उम्मेदवार दीपक बोहराले उद्घाटन गरेका थिए ।

DSC_5328.JPG