२०८२, श्रावण २३ गते

Aug 08 2025 | २०८२, श्रावण २३ गते

‘भैरहवामा दीपक बोहरा र विकास एक–अर्काको पर्यावाची जस्तै’

आइतवार , कार्तिक १३, २०७९

भैरहवा, १३ कात्तिक । 
रुपन्देही सदरमुकाम भैरहवाको विकासको पर्यावाचीको रुपमा दीपक बोहरा रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । 

राप्रपा, एमाले र जसपाको तीनदलीय तालमेलबाट रुपन्देही  क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रहेका पूर्वमन्त्री दीपक बोहरा र प्रदेश सदस्य उम्मेदवार महेन्द्र यादवको निर्वाचन प्रचारप्रसार कार्यलय वडा नम्बर ३ को शनिबार शुभारम्भ कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् । 

उक्त कार्यक्रममा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दीपक बोहराले संसदमा रहदा, सरकारमा रहदा नरहदा सधै भैरहवाबासी, रुपन्देहीबासीको लागि काम गरेको इतिहास बताउँदै आसन्न निर्वाचनमा आफु निर्वाचित भइरहदा भैरहवाबासीको लागि दीगो विकास र समृद्धिको केही महत्वपूर्ण योजनाका काम गरेर जाने सपना रहेको बताए ।

सो कार्यक्रममा राप्रपा केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष तथा पूर्व गृहमन्त्री निरञ्जन थापाले देशको निकासका लागि यो तीन दलीय तालमेल जरुरी रहेको बताए । उनले भो, ‘अहिले चरम भ्रष्टाचार, महंगी, बेरोजगारी बढेको बढ्यै छ । यसबाट निकास दिन, देश विकासको लागि तीनदलीय तालमेलबाट उम्मेदवारी दिएका छौं । ’ 

उक्त कार्यक्रममा एमाले रुपन्देही जिल्ला उपसचिव तथा प्रचार विभाग प्रमुख हितराज पन्थीले परमादेशबाट स्थापित सरकार जनादेशबाट हटाउन जरुरी रहेको बताए । उनले भने, ‘नाकाबन्दी हटाउन एमालेको नेतृत्वमा रहेको सरकारलाई राप्रपाको सहयोग रहेको थियो । राष्ट्र र राष्ट्रियताको लागि हामीले तालमेल गरेका हौं । ’ 
पन्थीले भने, ‘भैरहवाको लागि विकास र दीपक पर्यावाची जस्तै रहेको छ । सधै पर्यटक मान्छेलाई मात्रै अगाडि लैजादा समस्या भयो । भैरहवाको हकमा सिद्धार्थनगरको माटो र जनताले चिनेको दीपक बोहोरालाई जिताउनु जरुरी छ । ’

उनले अगाडि भने, ‘चुच्चे नक्सामा रहेको भूमि फिर्ता गराउन, मुस्ताङदेखि मर्चवारसम्म, महाकालीदेखि मेचीसम्म रेलमार्ग शुरुवात गर्नु जरुरी छ । यतिबेला हामी सिंगो र एकताबद्ध हामीले हाम्रो स्वाभिमान बचाउने कुराको लागि ३ दलीय तालमेल भएको हो । मंसिर ४ पछि केपी ओलीको नेतृत्वमा सरकार बनेपछि सबै समाधान हुनेछन ।“ 

सो अवसरमा जसपाका युवा नेता क्यास मोहमद (गुड्डु) ले निर्वाचनको बेला मात्र नागरिकताको कुरा उठाएर पाँचदलीय गठबन्धनलाई जनताले भोट नदिने दावी गरे ।