
बुटवल–बेलहिया हाई वे मा मेट्रोट्रेनदेखि सिद्धार्थ चक्रपथ निर्माणसम्मका योजना
आइतवार , कार्तिक १३, २०७९
भैरहवा, १३ कात्तिक ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँण प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेको रुपन्देही क्षेत्र नम्बर ३ मा पाँचदलीय गठबन्धनले संकल्प पत्र सार्वजनिक गरेको छ । प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बालकृष्ण खाँण र प्रदेश सभा ३ (क) का उम्मेदवार सन्तोष कुमार पाण्डेय र ३ (ख) का उम्मेदवार रामचन्द्र ढकालले संयुक्त रुपमा आगामी कार्ययोजनासहितको संकल्प पत्र सार्वजनिक गरेका हुन् ।
भैरहवालाई लुम्बिनी प्रदेशकै महत्वपूर्ण औद्योगिक, व्यापारिक एवं पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने, सिद्धार्थनगर नगरपालिका वरपर ‘सिद्धार्थ चक्रपथ’ निर्माणका लागि यथाशिघ्र डी.पी.आर. गरी निर्माण कार्यको थालनी गर्ने तथा तिनाउ–दानव नदीमा ‘जनताको तटबन्धन’ कार्यक्रम थप प्रभावकारी बनाउने तथा डण्डा/रोहिणी नदीमा पनि नदी कटानलाई व्यवस्थित गरिने लगायतका ६७ बुदे संकल्प पत्र सार्वजनिक गरिएको छ । रुपन्देही–३ मा राष्ट्रिय जनमुक्ति पार्टीले पनि सर्मथन गरेको छ ।
सो अबसरमा बोल्दै कांग्रेस नेता खाँणले बेलहिया नाकालाई व्यवस्थित नाकाको रुपमा विकास गरेका छन् । उनले बेलहिया–बुटवल ६ लेन व्यापारिक मार्गलाई पर्यटकीय मार्गको रुपमा समेत विकास गर्ने गरी काम गर्ने बताए ।
संकल्प पत्रमा बुद्ध परिक्रमा सडकको दुवैतिर नालीसहितको फुटपाथ निर्माण गर्न विशेष पहल गर्नेदेखि लिएर बुटवलको मोतीपुर औद्योगिक क्षेत्रको क्षेत्रफल घटाएर स्थायी बसोबास गर्ने व्यक्तिहरूको समस्या दिगो रूपमा समाधान गर्ने सम्मका विषयबस्तुलाई समाबेश गरिएको छ । त्यसै गरी बेलबास–बेथरी सडकको स्तरोन्नति गरी वैकल्पिक मार्गको रूपमा सञ्चालन गरिने, बेलहिया–बुटवल खण्डमा रहेको ६ लेन सडकलाई अझ आकर्षक बनाई पर्यटकीय आकर्षणको केन्द्र बनाउन तथा आवश्यक ठाउँहरूमा आकाशे पुल र व्यस्त चोकहरूमा ट्राफिक लाइट जडान गरिने संकल्प पत्रमा उल्लेख गरिएको छ ।
त्यस्तै बुटवल भैरहवा सुनौली हाईवेमा मेट्रो रेल सन्चालनका लागि सम्भाव्यता अध्यायन गरिने, बेलहियामा एकीकृत भन्सार प्रणालीको निर्माण, बुटवल देखि गोरखपुरसम्मको प्रशारणलाईन निर्माणका लागि यथाशिघ्र पहल गरिने तथा भैरहवामा रहेको विशेष आर्थिक क्षेत्र सेजको व्यवस्थित रुपमा सञ्चालनका लागि नीतिगत निर्णय गरिने संकल्प पत्रमा उल्लेख छ ।
कार्यक्रममा प्रदेशसभा सदस्यका उम्मेदवार सन्तोष कुमार पाण्डेय, रामचन्द्र ढकाल, कांग्रेस क्षेत्र नम्बर ३ का सभापति सुशिल गुरुङ, क्षेत्रीय सचिव लेखनाथ भट्टराईले बोल्दै पाँचदलीय गठबन्धनलाई अत्याधिक मतका साथ विजयी बनाउनुपर्नेमा जोड दिए । संकल्प पत्र प्राध्यापक सुदर्शन प्रसाद नेपालले वाचन गरेका थिए ।
राष्ट्रिय जनमुक्ति पार्टीका क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा उम्मेदवार मोजिव ओलीले आफूले प्रतिनिधिसभा तर्फ गृहमन्त्री खाँणलाई समर्थन गरेको जनाउँदै आफ्नो उम्मेदवारी निष्क्रिय गरेको घोषणा गरे ।
रुपन्देहीको क्षेत्र नम्बर ३ मा सत्ता गठबन्धनबाट गृहमन्त्री बालकृष्ण खाँण तथा एमाले र जसपाको समर्थनमा राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहरा चुनावी प्रतिष्पर्धामा छन् ।
संकल्प पत्र पूर्णपाठ :
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij