२०८२, श्रावण २३ गते

Aug 08 2025 | २०८२, श्रावण २३ गते

स्थानीयको व्यवस्थापनपछि मात्रै तिनाउ–दानव करिडोरको काम अघि बढ्छ : पौडेल

सोमवार , कार्तिक १४, २०७९

बुटवल, १४ कात्तिक । 
पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले स्थानीयको उचित व्यवस्थापनपछि मात्रै तिनाउ–दानव नदी करिडोरको काम अघि बढ्ने स्पष्ट पारेका छन् । करिडोर निर्माणले नदी आसपासका बासिन्दा घरबारबिहीन हुने भ्रम छरिएको भन्दै उनले यस्तो कदापी नहुने बताए । पूर्वाधार विकास योजनाका काममा जनतालाई भ्रममा पारेर राजनीति गर्न खोजिएको भन्दै उनले राजनीतिक स्वार्थपूर्तिका लागि जनतालाई हरेक कुरामा आतंकित बनाउनु गलत भएको उल्लेख गरे । 

सोमबार बुटवल–११ युद्धनगरमा पार्टी कार्यकर्ताहरुसँगको भेटघाटमा तिनाउ–दानव करिडोर बारे छलफल गर्दै उनले विकासका नाममा कसैले पनि घर–बास विहिन हुनु नपर्ने बताए ।
जनताका लागि नै सुरु गरिएका महत्वकांक्षी र ठूला विकासका आयोजनाहरुमा गलत ढंगले भ्रम फैलाएर आतंकित पार्ने गरिएको भन्दै उनले जनतालाई असर पर्ने कुनै अघि नबढ्ने स्पष्ट पारे । 

पौडेलले तिनाउ नदी कटान रोकथाम तथा सुरक्षित बसोबासका लागि करिडोर निर्मार्णको काम अघि बढाइएको स्पष्ट पार्दै कोही जनतालाई पनि घर–बासविहिन नबनाइने स्पष्ट पारे । यहाँको बस्तीलाई व्यवस्थित गरी करिडोर क्षेत्रमा पर्ने घर–परिवारलाई व्यवस्थित ठाउँमा उनीहरुकै चाहना अनुसार व्यवस्थापन गरेर मात्रै करिडोर निर्माण हुनेमा ढुक्क हुन आग्रह गरे । ‘यहाँको बस्ती सुरक्षाका लागि नै करिडोर निर्माण गर्न लागिएको हो । विकासका नाममा जनतालाई आतंकित पार्ने र विस्थापित गर्ने भन्ने हुँदैन ।’–पौडेलले भने, भ्रममा नपर्नुहोस यदी यहाँबाट बस्ती हटाउनुपर्ने भएमा यो भन्दा थप व्यवस्थित ठाउँमा तपाईहरुलाई व्यवस्थापन नगरी काम अघि बढ्दैन । 

रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पौडेलले आफ्नो ध्यान खुद्रे योजना भन्दा समग्र क्षेत्रको एकसाथ विकास गर्नमा बढी केन्द्रित रहेको उल्लेख गरे । रुपन्देहीलाई विकासको रोलमोडल बनाउनका लागि कुनै पनि हालतमा बजेटको कमी हुन नदिने प्रतिवद्धता जनाउँदै उनले यसका लागि आगमी निर्वाचनमा एमालेले जित्नैपर्ने उल्लेख गरे । 
आकाश ओढ्ने र धर्ती बिछ्याउने सबैको प्रतिनिधि भएर काम गर्ने प्रतिवद्धता गर्दै पौडेलले अब आफ्नो ध्यान रोजगार सिर्जना र शिक्षामा हुने बताए ।

हरेक घर परिवार तथा युवाहरुलाई रोजगार सिर्जना गर्नका लागि ठूला बिकास आयोजनाहरुको सुरुवात, औद्योगिक क्षेत्रको बिकास, कृषिलाई आधुनिकीकरण तथा प्राविधिक शिक्षालाई जोड दिइने उनको भनाइ छ । 

कार्यकर्ताहरुसँगको छलफलमा बोल्दै एमाले पोलिटव्यूरो सदस्य पूर्वमन्त्री तथा रुपन्देही क्षेत्र नम्बर २ ‘१’ बाट प्रदेशसभा सदस्यका उम्मेदवार लिला गिरीले बुटवलको योजनावद्ध बिकासका लागि विगतमा आफू सरकामा हुँदा सुरु गरेका योजनालाई पूर्णता दिन बाँकी नै रहेको उल्लेख गरे । 

विगतमा आफूले सुरु गरेका योजनाहरुलाई वर्तमान सरकारले बेवास्ता गरेकोप्रति चिन्ता व्यक्त गर्दै उनले  ती योजनाहरु पूरा भएमा यहाँको जनजीवनमा उल्लेख्य परिवर्तन आउने दाबी गरे । यहाँको पर्यटकीय क्षेत्रको बिकास, खेलकूद क्षेत्रमा पूर्वाधार निर्माण, प्राविधिक शिक्षामा लगानी लगायतका मुद्दाहरु आफ्नो प्राथमिकतामा रहेको उनले बताए ।