
सोमवार , कार्तिक १४, २०७९
देवदह, १४ कात्तिक ।
नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले घनश्याम भुसालमा राजनीतिक चरित्र नभएको बताएका छन् । रुपन्देही क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका विश्वकर्माले एकपटक टिकट नपाउँदैमा पार्टी छाडेर रातारात विपक्षीको उम्मेदवार घनश्यामले पार्टीलाई पटकपटक धोखा दिएको आरोप समेत लगाए ।
एमाले, राप्रपा र जसपाले आइतबार देवदहमा गरेको चुनावी सभामा बोल्दै विश्वकर्माले अरुलाई चुनावदेखि चुनावसम्मको राजनीति गरेको आरोप लगाउने भुसालले एउटा चुनावमा टिकट नपाउने वित्तिकै विपक्षीसँग मिलेमतोमा जानुले उनको असली मुखुण्डो उदांगो भएको टिप्पणी गरे ।
रुपन्देही–१ मा भुसाल सत्ता गठबन्धनको समर्थनमा उम्मेदवार बनेका छन् । आफूलाई दलाल पुँजीवादको विरोधी भन्ने भुसालले दलाल पुँजीवादको अगुवा नेपाली कांग्रेस र माओवादी केन्द्रसँग सांठगांठ गरेर आफनै पार्टीको सरकार ढालेर प्रतिपक्षलाई सत्ता सुम्पेको र पार्टी विभाजनमा भूमिका खेलेको भन्दै विश्वकर्माले भुसालको आलेचना गरे । ‘एमालेमा ओलीकै एकदम आफ्ना भनिने दर्जन बढी नेताले टिकट पाएका छैनन्, राप्रपासँग तालमेल हुँदा उहाँले पनि पाउनुभएन’–विश्वकर्माले भने–‘टिकट नपाउने वित्तिकै विपक्षीको उम्मेदवार बन्न जानु कुनै पनि अर्थमा राजनीतिक चरित्र होइन, पार्टीमाथि धोखा हो ।’ भुसालले विगतमा पनि पार्टी विभाजन गरेको र सिद्धान्तको आवरणमा सधैं नेतृत्वलाई कमजोर बनाई विपक्षीलाई खुशी बनाउने काममा रमाएको विश्वकर्माले आरोप लगाए ।
राष्ट्रिय राजनीतिमा स्वतन्त्र उम्मेदवारको कुनै भूमिका नहुने विश्वकर्माले बताए । सत्ता गठबन्धनका कारण देशको राष्ट्रियता कमजोर बनेको भन्दै उनले राष्ट्रियता जोगाउन राप्रपा र जसपासँग तालमेल गर्नुपरेको बताए ।
विश्वकर्माले उत्तर दक्षिण जोड्ने गरी क्षेत्र नम्वर १, को विकासको काम दशगजाबाट शुरुवात गरेको र ५ बर्ष यता विकासले फड्को मारेको दावी गरे । नेकपा एमालेको सरकारले अगाडि सारेका अधुरा योजना सम्पन्न गर्नको लागि नेकपा एमाले, राप्रपा र जसपाका साझा उम्मेदवारलाई जिताउन आग्रह गर्दै भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई जग्गाको स्वामीत्व प्रदान गर्न पनि साझा उम्मेदवारलाई जिताउनुपर्नेमा जोड दिए ।
राष्ट्यि प्रजातन्त्र पार्टीका सहायक महामन्त्री ताहिर अलीले सत्ता गठबन्धनका कारण देशमा महंगी बढिरहेको र गलत राजनीतिक प्रवृतिका कारण देश वर्वादीतर्फ अगाडि बढेको बताए । क्षेत्र नम्बर १(१) प्रदेश सभा सदस्य उम्मेदवार आशिष चौधरीले यस क्षेत्रको विकासको लागि आफु दत्तचित्त भएर लाग्ने प्रतिवद्धता व्यक्त गरे ।
संयुक्त निर्वाचन परिचालन देवदह–४, का संयोजक भिमप्रसाद गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्र नम्बर १, रुपन्देहीका संयुक्त निर्वाचन परिचालन समितिका संयोजक डा. कृष्णप्रसाद न्यौपाने, राष्ट्यि प्रजातन्त्र पार्टीका नेता माधव रिमाल, एमाले देवदह–४, शाखा कमिटीका अध्यक्ष मनबहादुर चौधरीको स्वागत र सचिव नारायण प्रसाद सिग्देल लगायतले विकास र समृद्धिका लागि एमाले नेतृत्वको गठबन्धनको जीतको विकल्प नभएको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij