
शुक्रवार , मंसिर २६, २०७७
भैरहवा, २६ मंसिर ।
राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको माग गर्दै शुक्रबार रुपन्देहीमा प्रदर्शन भएको छ । शिव सेना नेपालको आयोजनामा तिलोत्तमाको भलबारीबाट भैरहवासम्म मोटरसाइकल तथा कार र्याली प्रदर्शन भएको हो ।
गाडीमा पृथ्वीनारायण शाहको तस्वीर राखेर राष्ट्रिय झण्डासहित सुरु भएको र्याली भलबारीबाट बुद्धचोक, लुम्बिनी रोड, गल्लामण्डी, मिलनचोक, देवकोटाचोक हुँदै बुद्धचोकमा पुगेर कोणसभा गरी समापन भएको थियो ।
कोणसभामा शिव सेना नेपालका केन्द्रीय अध्यक्ष अनिल बाबा बस्नेत, केन्द्रीय सदस्य अनिल जैसवाल, रुपन्देही अध्यक्ष विपिन मल्लिकले बोल्दै राष्ट्रिय एकता, अखण्डता र धर्म रक्षाका लागि राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापना गरिनुपर्ने धारणा राखेका थिए । भ्रष्टाचार र विदेशी हस्तक्षेपले गणतन्त्र असफल भइसकेकाले जनतामा जागरणका लागि देशव्यापी प्रदर्शनको अभियान थालेको उनीहरुको दावी थियो ।
र्यालीमा दुई हजार जना भन्दा बढीको सहभागिता रहेको आयोजक नारायण अर्यालले दावी गरे । राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको लागि हुने जुनसुकै प्रदर्शनमा सहभागी हुन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीले विज्ञप्ती निकालेर आह्वान गरेको थियो ।
बिहीबार पनि भैरहवामा राजावादीहरुले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता खारेजीको माग गर्दै प्रदर्शन गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij