२०८२, श्रावण २३ गते

Aug 08 2025 | २०८२, श्रावण २३ गते

रुपन्देही–१ मा एमाले उम्मेदवारलाई मतदाताको आर्शीवाद

मंगलवार , कार्तिक १५, २०७९

रुपन्देही, १५ कात्तिक । 
रुपन्देही क्षेत्र नम्बर १ मा नेकपा एमालेका प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारलाई मतदाताले जीतका लागि आशीर्वाद दिएका छन् । चुनावी अभियानका क्रममा तिलोत्तमाको वडा नम्बर १५ र १६ मा घरदैलो तथा ओमसतिया–३ मा प्रचार कार्यालय उद्घाटनका क्रममा मतदाताले प्रतिनिधिसभा सदस्य उम्मेदवार छविलाल विश्वकर्मा र प्रदेश सभा उम्मेदवार दधिराम न्यौपानेलाई टिका लगाइदिंदै आशिर्वाद दिएका हुन् । 

मतदाताले सत्ता गठबन्धनले आफूले जित्न नसक्ने देखेर उम्मेदवारी नदिइ एमाले छाडेका व्यक्तिलाई उम्मेदवार बनाएको भन्दै जनताको रोजाई एमाले नै भएको बताएपछि आफूहरु उत्साहित भएको एमाले उम्मेदवारहरुको भनाई छ । 

आम जनताको हित, देशको विकास र राष्ट्रियताको रक्षाका लागि एमालेको जीत आवश्यक रहेको भन्दै मतदाताले जनताको भावना अनुसार काम गर्न सुझाव समेत दिएका एमाले नेता वेद गिरीले बताए । 

घरदैलोका क्रममा उम्मेदवार विश्वकर्माले अव्यवस्थित बसोबासी, सुकुम्बासी र गाउँ ब्लकका जनतालाई लालपुर्जा, किसानलाई सिंचाई सुविधा तथा सडक, शिक्षा र स्वास्थ्यमा एमालेले  जनताको चाहना अनुसार काम गर्ने प्रतिवद्धता जनाए ।

नेता विश्वकर्माले सत्तम गठबन्धनका कारण संकटमा परेको राष्ट्रियतालाई जोगाउन, महंगी र भ्रष्टाचार रोक्न एमाले, राप्रपा र जसपाको तालमेल भएको भन्दै रुपन्देही–१ मा सत्ता गठबन्धन भन्दा १५ हजार मतान्तरले आफूहरुले चुनाव जित्ने भएकाले उत्साहित भएर लाग्न कार्यकर्तालाई आग्रह गरे । 

प्रदेश सभा उम्मेदवार दधिराम न्यौपानेले एमाले नेतृत्वको सरकारमा अघि सारेका विकास योजनाहरु पूरा गर्न आफू उम्मेदवार भएको भन्दै तिनलाई पूरा गरेरै छाड्ने बताए ।