२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

सत्तारुढ नेकपाका नेताहरु भन्छन् : सरकार टपरटुइयां तालले चल्यो, कांग्रेस भन्दा फरक भएन  

शनिवार , मंसिर २७, २०७७

बुटवल, २७ मंसिर ।

सत्ताको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता र सांसदहरुले सरकार ‘टपरटुइयां’ तालले चलेको टिप्पणी गर्दै सरकारको नेतृत्वप्रति तीतो ओकलेका छन् । सरकारको नेतृत्व पार्टीको नीति, योजना विपरित गलत बाटोमा हिंडेको भन्दै उनीहरुले नेकपाको नेतृत्व र सरकार कांग्रेससंग कत्ति पनि फरक नभएको औंल्याए । 

पार्टी र सरकार समाजवादी दिशामा अघि बढ्न नसकेको निष्कर्षसहित उनीहरुले समाजवादी अभियान समेत सार्वजनिक गरेका छन् । ‘सरकार र पार्टी नेता विशेषको स्वार्थ र लहडको भरमा टपरटुइयां तालले चलेका छन्’–प्रदेश सांसद विष्णु पन्थीले शनिबार बुटवलमा आयोजित भेलालाई सम्बोधन गर्दै भने–‘पार्टीको नीति एकातिर व्यवहार अर्कोतिर भयो, नेतृत्व गलत बाटोमा गयो, कांग्रेससंग कत्ति पनि फरक भएन ।’ केन्द्र, प्रदेश र स्थानीय तह सबैतिर नेकपा बहुमतसहित सत्तामा रहे पनि कार्यकर्तामा निराशा र अन्योलता छाएको सांसद पन्थीले औंल्याए । 

पार्टीका केन्द्रीय सदस्य डोर प्रसाद उपाध्यायले संविधान र पार्टीको चुनावी घोषणापत्रले समाजवाद उन्मुख समाज निर्माण गर्ने भने पनि सरकार र पार्टी नेतृत्वको एउटा समूह ठीक उल्टो बाटो हिंडेको बताए । जनताले चुनावमा झण्डै दुईतिहाई बहुमत दिए पनि सरकार एकपछि अर्को भ्रष्टाचार काण्डमा मुछिंदै गएको र जनभावना विपरित चलेको उपाध्यायले टिप्पणी गरे । ‘पार्टी र सरकारले शिक्षा, स्वास्थ्य, भूमि जस्ता महत्वपूर्ण सवालमा समाजवादी बहस कहिल्यै गरेन, बरु सीमित आसेपासे व्यापारिक समूहको स्वार्थपूर्तिमा केन्द्रीत भयो’–उपाध्यायले प्रश्न गरे–‘यो तरिकाले न कम्युनिष्ट पार्टी चल्छ, न सरकार ।’

नेकपाका अर्का केन्द्रीय सदस्य बामदेव क्षेत्रीले कम्युनिष्ट पार्टीको विचार र दर्शनमै खोट रहेको महसुस हुन थालेको औल्याउँदै अब समाजवादी धारमा पार्टीलाई रुपान्तरण नगरे पार्टी संकटमा पर्ने बताए । 

भेलामा डा.कृष्ण खनाल, लिलाबल्व ढकाल, सिद्विचरण भट्टराई, कमल चुदाली, मिना न्यौपाने, पे्रमनारायण गैरे, जीवलाल पन्थी, ठाकुर विक, घनश्याम यादव लगायतले पार्टीमा वैचारिक र नेताहरुमा कार्यशैलीमा विचलन देखिएको धारणा राखेका थिए । 

भेलाले बामदेव क्षेत्री संयोजक, डोर प्रसाद उपाध्याय सहसंयोजक रहेको २५ सदस्यीय समाजवादी अभियान नेपाल गठन गरेको छ । अभियानमा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाबाट प्रतिनिधित्व गराई विषयगत विज्ञहरु समेत राखेर समाजवादमा आधारित अध्ययन, अनुसन्धान अघि बढाइने अभियानका कार्यालय सचिव गुनाराम घिमिरेले बताए ।