२०८२, श्रावण २३ गते

Aug 08 2025 | २०८२, श्रावण २३ गते

बुटवल पुगेर बद्री पंगेनीले भने–विकासको मोडल हेर्न रुपन्देही पुगौं

शनिवार , कार्तिक १९, २०७९

रुपन्देही, १९ कात्तिक । 
लोकदोहोरी गायक बद्री पंगेनीले विकासको मोडल हेर्न रुपन्देही आउनुपर्ने बताएका छन् । ‘म कसैको आग्रहमा यहाँ आएको हैन, यहाँका विकासका नमुना योजना हेर्नुहोस्, अनि आफै मूल्यांकन गर्नुहोस्, यहाँको विकासले बुटवल, रुपन्देही र प्रदेश मात्रै होइन देशमै नयाँ मोडल दिएको छ, यसको नेतृत्व नेकपा एमालेका उपाध्यक्ष, रुपन्देही क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले विकासे नेताको छवि बनाएर देखाउनु भएको छ’– उनले भने ।

बुटवलमा एमालेले आयोजना गरेको चुनावी कार्यक्रममा गीत गाउन आएका पंगेनीले देशभरमै पौडेल विकासे नेतामध्ये पहिलो भएको दावी गरे । मुलुकको अहिलेको आवश्यकता विकास र समृद्धि नै भएकोमा पंगेनीले जोड दिए । ‘विकास र समृद्धि अहिलेको आवश्यकता हो, त्यसका लागि तपाईहरुले विष्णु पौडेल जस्तो नेता पाउनुभएको छ’–पंगेनीले भने–‘काठमाडौं र नेपालभरि नै विकासे नेता को भन्यो भने विष्णु पौडेलको नाम सबैभन्दा पहिला आउँछ ।’

पौडेलको नेतृत्वमा विशेष गरी रुपन्देही र लुम्बिनी प्रदेशमा भएका विकास निर्माणका कामहरुको अथाह प्रमाणहरु खोज्न सकिने गायक पंगेनीले उल्लेख गरे । ‘उहाँमा बजेटहरु, योजनाहरु, भिजनहरु, बजेट कार्यान्वयन गर्ने कार्यक्षमता छ ’–पंगेनीले भने–‘स्थानीय तहका वडा वडासम्म समन्वय गरेर बजेट कार्यान्वयन गर्ने क्षमता उहाँमा धेरै छ ।’

पंगेनीसंगै गायिका पूर्णकला बीसीले पनि नेकपा एमालेका उम्मेदवार विष्णु पौडेल र प्रदेश सभा सदस्य उम्मेदवार भोजप्रसाद श्रेष्ठको पक्षमा गीत गाएका थिए ।