
शनिवार , कार्तिक १९, २०७९
रुपन्देही, १९ कात्तिक ।
नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले मंसिर ४ पछि नेकपा एमालेको नेतृत्वमा सरकार बन्ने र सुकुम्वासी तथा अव्यवस्थित बसोवासीको समस्या समाधान गर्ने दावी गरेका छन् । रुपन्देही क्षेत्र नम्बर १, प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका नेता विश्वकर्माले जनताको हित र देश विकासको स्पष्ट भिजन र एजेण्डा एमालेसँग मात्रै भएकाले मंसिर ४ को चुनावमा जनताले एमालेलाई नै वहुमत दिने दावी गरे ।
शनिबार देवदह– १०, मा नेकपा एमाले, राप्रपा र जसपाको संयुक्त निर्वाचन प्रचार प्रसार कार्यालयको उद्घाटन तथा घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै उनले सत्ता गठबन्धनका दलहरुमा देशलाई सही नेतृत्व गर्ने नेता र क्षमता नभएकाले बहुमत जनता एमालेकै पक्षमा रहेको प्रष्ट पारे ।
यसअघिको एमाले नेतृत्वको सरकारले सुकुम्वासी तथा अव्यवस्थित बसोवासीलाई लालपुर्जा दिन सबै काम अन्तिम चरणमा पुर्याएको बेला सरकार ढालिएको हुँदा गठबन्धन सरकारका कारण सुकुम्बासी तथा अव्यवस्थित बसोवासीको समस्या समाधानमा अवरोध पुगेको नेता विश्वकर्माले बताए ।
देशलाई सही मार्गमा हिंडाउन, राष्ट्रियता जोगाउन तथा विकास र समृद्धि हासिल गर्न एमालेको जीत अनिवार्य रहेको नेता विश्वकर्माले बताए । देशैभर एमालेप्रति आकर्षण बढेको र विभिन्न दलबाट प्रवेश भइरहेकाले आउँदो चुनावमा एमालेले नै बहुमत ल्याउने उनले दावी गरे । पूर्वमन्त्री समेत रहेका नेता विश्वकर्माले एमाले सरकारले अगाडि सारेका अधुरा योजनालाई पूर्णता दिंदै रुपन्देही क्षेत्र नम्बर १ लाई नमुना बनाउन एमाले, राप्रपा र जसपाका उम्मेदवारलाई जिताउन आवश्यक रहेको बताए ।
कार्यक्रममा रुपन्देही १ (२) का प्रदेश सभा सदस्य उम्मेदवार दधिराम न्यौपानेले गठबन्धन सरकार रहेसम्म महंगी, भ्रष्टाचार र बेथिति कायम रहने र विकास निर्माणका कामहरु अवरुद्ध हुने भन्दै एमाले, राप्रपा र जसपाका साझा उम्मेदवारलाई विजय गराउन आग्रह गरे । नेता न्यौपानेले देवदह १०, चरंगेको विकासको लागि नेकपा एमालेको सरकारले योजना अगाडि बढाए पनि गठबन्धन सरकारले बजेट कटौती गरेको बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य तोयनाथ लम्साल, एमाले नेता मनकुमार कनौजे र एकनारायण रिजालले सत्ता गठबन्धनलाई परास्त गर्न एमाले, राप्रपा र जसपा वीच चुनावी तालमेल गरिएको भन्दै रुपन्देही १ को प्रतिनिधि सभा र प्रदेश सभा गरी तीनै जना उम्मेदवारको जीत सुनिश्चित भएको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij