
आइतवार , कार्तिक २०, २०७९
रुपन्देही, २० कात्तिक ।
जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले जनमत पार्टीलाई मतदान गर्न आग्रह गरेका छन् । पुराना दलहरुबाट मुलुकको परिवर्तन सम्भव नरहेको भन्दै डा. राउतले यसपटक त्यसको विकल्पमा जनमत पार्टीलाई मतदान गर्नुपर्ने बताए ।
रुपन्देहीको क्षेत्र नम्बर ४ मर्चवारको चुनावी सभालाई सम्बोधन गर्दै डा.राउतले पुराना र आफूलाई ठुला भन्ने दलहरु जनतामा जान डराइरहेको बताए । जनताका लागि कुनै काम गर्न नसकेकोले सत्ता, शक्ति आफ्नै हातमा भएपनि दलहरु एक्लै जनतामा जान नसकेको बताउँदै अहिले गठबन्धन बनाएर चुनाव लड्नुपर्ने अवस्था आएको राउतले आरोप लगाए ।
उनले भने, ‘जनताको बीचमा दलहरु जान सकेका छैनन् । एकातिर पाँच दल र अर्कोतिर तीन दलको गठबन्धन छ । यो गठबन्धन होइन ठगबन्धन हो । यो ठगबन्धनबाट सबै सचेत भएर यसपटक जनमत पार्टीलाई मतदान गर्नुहोस् । ’
सामुदायिक समाजवाद ल्याउन, जनताराज ल्याउन डा. राउतले देशैभरी जनमत पार्टीका उम्मेदवारहरुलाई मतदान गर्न आग्रह गरे ।
त्यस्तै रुपन्देही क्षेत्र नम्बर ४का प्रतिनिधी सभाका उम्मेदवार तथा जनमत पार्टीका केन्द्रीय सचिव भोपेन्द्र प्रसाद यादवले मर्चवारको परिवर्तन गर्नका लागि जनमत पार्टीको विकल्प नभएको बताए । यादवले मर्चवारमा मलखाद्, सिंचाई, विउविजन, स्वास्थ्य, शिक्षा, सडक, पूर्वाधार लगायतका काममा मर्चवार निकै पछाडी परेको हुँदा त्यसको परिवर्तनका लागि जमिनदारी शासक वर्गको विकल्पमा जनमत पार्टीलाई नै मतदान गर्न आग्रह गरे ।
कार्यक्रममा प्रदेश सभाका उम्मेदवार ४ (क) का उम्मेदवार जितेन्द्र नाथ शुक्ला (बब्लु) र (ख)का उम्मेदवार अर्जुन प्रसाद जैसवालले पनि मर्चवारको परिवर्तनको लागि जनमतलाई एक मौका दिनुपर्ने बताए । जनमत पार्टीले रुपन्देहीको सम्मरीमाई, मायादेवी गाउँपालिका र लुम्बिनी साँस्कृतिक नगरपालिकाको विभिन्न स्थानमा कार्यक्रमको आयोजना गरेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij