२०८२, श्रावण २३ गते

Aug 08 2025 | २०८२, श्रावण २३ गते

पशुपति राणाले भने, ‘दीपकलाई जिताएर पठाउनुस् हामी गृहमन्त्री बनाएर पठाउँछौं ’

सोमवार , कार्तिक २१, २०७९

भैरहवा, २१ कात्तिक ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष पशुपति शमसेर राणाले रुपन्देही क्षेत्र नम्बर ३ बाट दीपक बोहरालाई जिताउन आग्रह गरेका छन् । सोमबार भैरहवामा आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘दीपक बोहरा विकासको लागि जरुरी छ, यो ठाउँ, यहाँको गाउँले चिनेको व्यक्ति हुन् । उनलाई मंसिर ४ गतेको निर्वाचनमा मत दिनुस् हामी उहाँलाई गृहमन्त्री बनाएर पठाउँछौं । ’

राणाले दीपक बोहराको जित सुनिश्चित रहेको बताउँदै आफ्नो मत सदुपयोग गर्न पनि आग्रह गरे । उनले भने, ‘दीपकले जितिसकेका छन् । केवल औपचारिकता पूरा गर्न बाँकी छ, दीपकको जीत राष्ट्रियता र अखण्डताको लागि पनि आवश्यक छ । ’

राणाले रुपन्देही क्षेत्र नम्बर ३ को सवालमा सबै राप्रपाका सदस्यहरुले प्रतिनिधिसभा सदस्यमा हलोमा र प्रदेशमा छाता र सुर्यमा मतदान गरेर इमान्दारिता देखाउन पनि आग्रह गरे । उनले भने, ‘प्रतिनिधिसभामा हलोमा, प्रदेशको ३ (१) मा छाता र ३ (२)मा सुर्यमा मतदान गर्ने हो । ’

उनले कांग्रेसको कारण देश संकटमा परेको बताउँदै मुलुकको निकासको लागि निर्वाचनमा सबै राष्ट्रवादीहरु एक भएर लाग्ने समेत बताए । 

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय नेतृत्वले दीपकको विजयीको लागि कुनै कमी नराख्ने बताउँदै एमाले र जसपाको राजनैतिक इमान्दारितासँगै विजयीको सुनिश्चिता रहेको समेत बताए । 

उनले वर्तमान गृहमन्त्री बालकृष्ण खाँणले शक्तिको दुरुपयोग गरिरहेको सुन्नमा आएको बताउँदै त्यसतर्फ सरकारको ध्यानाकर्षण समेत गराए । उनले भने, ‘सरकारका वर्तमान गृहमन्त्री पनि दीपकको प्रतिष्पर्धीको रुपमा छन रे, उनले प्रहरी प्रशासनको दुरुपयोग गरेको भन्ने सूचना आएको छ । म उहाँलाई चेतावनी दिन चाहन्छु, राज्यशक्तिको दुरुपयोग नहोस् ।’