
सोमवार , कार्तिक २१, २०७९
भैरहवा, २१ कात्तिक ।
लुम्बिनी प्रदेश सरकारको पूर्व शिक्षा, सामाजिक विकास, उद्योग, वन तथा वातावरण मन्त्री कल्पना पाण्डेले रुपन्देही क्षेत्र नम्बर ३ का उम्मेदवार तथा राप्रपाका वरिष्ठ नेता दीपक बोहरालाई समर्थन गर्ने भएकी छन् ।
लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)की लुम्बिनी प्रदेश समिति सचिवालय सदस्य पाण्डेले सोमबार भैरहवामा पत्रकार सम्मेलनमार्फत पार्टी परित्याग गरी तत्काल स्वतन्त्र रुपमा रही बोहरा र तीन दलीय तालमेलका उम्मेदवारलाई सहयोग गर्ने जानकारी दिएकी छन् । उनले भनिन्, ‘विकासप्रेमी नेता तथा पूर्वमन्त्री दीपक बोहरासहित प्रदेशसभा सदस्यका उम्मेदवार महेन्द्र यादव र तुलसी प्रसाद चौधरीलाई समर्थन गर्ने जानकारी गराउन चाहन्छु ।’ लोसपामा व्यक्तिवादी प्रवृत्ति हावी भएकाले आफूले पार्टी परित्याग गरेको उनले बताइन् ।
२०७२ सालदेखि आजसम्म सक्रिय रुपमा राजपा, जसपा र हाल लोसपामा आबद्ध भइ सक्रिय राजनीतिमा लागेको र राष्ट्रको सेवा प्रत्यक्ष रुपमा अवसर पाएको उनको भनाइ छ ।
‘साम्प्रादायिक र व्यक्ति केन्द्रीत राजनीतिबाट टाढा रही राष्ट्र र राष्ट्रियताको पक्षमा सधै शतिशाल रहँदै आएको र आउनेछु, कुनै क्षेत्र, समुदाय र व्यक्ति केन्द्रीतबाट मुक्त भइ आम नागरिकको हकहितको लागि स्वतन्त्र रुपमा तत्काल रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार दीपक बोहरासहित एमाले, राप्रपा र जसपाको उम्मेदवारलाई सहयोग गर्ने निर्णय लिएकी छु । मसहित मेरो टीमले सम्पूर्ण स्थानमा तीन दलका उम्मेदवारलाई सहयोग गर्नेछ ।’ रुपन्देहीको विकासका लागि राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहराको महत्वपूर्ण योगदान रहेको उनले बताइन् ।
पाँचदलीय गठबन्धन सत्तामा लिप्त भएको उनले आरोप लगाइन् । गठबन्धन सरकार मन्त्रीको संख्या बढाएर राज्यको ढुकुटी रित्ताउने काममा लागेको पाण्डेको भनाइ छ ।
कार्यक्रममा गत स्थानीय तहको निर्वाचनमा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ मा लोसपाबाट वडाअध्यक्षका उम्मेदवार बनेका कृपा शंकर मल्लाहले पनि बोहरालाई समर्थन गर्ने बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij